नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले खालिद जमीललाई भारतीय सीनियर पुरुष टीमको नयाँ प्रशिक्षक नियुक्त गऱ्यो। महासंघले शुक्रवार यसको घोषणा गऱ्यो। खालिदले २०१७-मा आइजल फूटबल क्लबलाई आई-लीग खिताब दिलाएका थिए। यसरी १३ सालमा पहिलोपल्ट कुनै भारतीयलाई सीनियर पुरुष टीमको मुख्य प्रशिक्षक नियुक्त गरियो। पूर्व भारतीय अन्तर्राष्ट्रिय खेलाड़ी र वर्तमानमा इण्डियन सुपर लीग टीम जमशेदपुर एफसी-का म्यानेजर ४८ वर्षीय जमीललाई एआईएफएफ-को कार्यकारी समितिले तीन सदस्यहरूका सूचीबाट चयन गऱ्यो। अन्य दुई दावेदार भारतका पूर्व मुख्य प्रशिक्षक स्टीफन कन्स्टेनटाइन र स्टीफन टारकोविक थिए। स्टीफन पहिला स्लोवाकियाको राष्ट्रिय टीमका प्रशिक्षक थिए। पूर्व दिग्गज फूटबलर आईएम विजयनको अध्यक्षतामा रहने एआईएफएफ-को तक्निकी समितिले कार्यकारी समितिको अन्तिम निर्णय लिनको निम्ति ३ उम्मेद्वार चयन गरेको थियो। जमीलले टीममा स्पेनका मनोलो मार्केजको स्थान लिनेछन्, जसले भारतीय टीमको लगातार खराब प्रदर्शनपछि गत महिना एआईएफएफ-सँग नाता तोड़ेका थिए। राष्ट्रिय पुरुष टीमका मुख्य प्रशिक्षकको रूपमा सेवा दिने अन्तिम भारतीय सावियो मेडेइरा थिए, जसले २०११-देखि २०१२-सम्म यस पदलाई सम्हालेका थिए। नयाँ भूमिकामा जमीलको पहिलो चुनौती सेण्ट्रल एशियन फूटबल एसोसिएशन (सीएएफए) नेशन्स कप हुनेछ, जुन २९ अगस्तदेखि ताजिकिस्तान र उज्बेकिस्तानमा खेलिनेछ।