दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि एउटा खुसीको खबर रहेको र चाँडै नै क्षेत्रको सरकारी पाठशालाहरुमा १,११६ नयाँ शिक्षक पदमा भर्ना खुलिने छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, यस विषयमा प्रशासनिक कार्य चलिरहेको म सबैलाई अवगत गराउन चाहन्छु। सृजना गरिएका यी नयाँ शिक्षक पदहरूबाट दार्जीलिङ र कालेबुङ जिल्लाका सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने हाम्रो प्रयास अब कार्यमा देखा पर्नेछ।’
उनले अघि भने, पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले दार्जिलिङ र कालेबुङ जिल्लाको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत रहेका नयाँ स्थापना भएका जुनियर उच्च विद्यालय, स्तरोन्नत उच्च विद्यालय र उच्च माध्यमिक विद्यालयका लागि १,११६ नयाँ शिक्षक पद सिर्जना तथा स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ। विद्यालय शिक्षा विभागले जिल्लाका विद्यालय निरीक्षक (एस.ई.) हरूलाई पठाएको आधिकारिक ज्ञापन अनुसार जीटीएका मुख्य सचिवद्वारा पेश गरिएको सिफारिसलाई विभागीय स्तरमा परीक्षण गरिएको छ। आवश्यकीय तथ्यांक र विवरण संकलन गर्न गृह तथा पहाडी मामिला विभागले स्पष्ट जानकारी मागिसकेको छ। सबै सम्बन्धित विद्यालयहरूबाट माग गरिएको विवरण एक्सेल फाइलमा शीघ्र पठाउन निर्देशन दिइएको छ।’
जीटीए प्रमुख अनित थापाले भने, प्रस्तावित शिक्षक पदहरू नयाँ हो कि पहिले नै स्वीकृत भइसकेका खाली पदहरू हुन्, भन्ने विवरण छुट्टै बुझाउन समेत निर्देशन दिइएको छ। यसैसँग, विभागले भनेको छ कि सम्बन्धित सम्पूर्ण तथ्यांक समयमै संकलन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ।’
उनले भने, कर्म नै हाम्रो सिद्धान्त भनेर हामीले पहाड निर्माण गर्न शुरु गरेका पहलहरु आज विस्तारै फलप्रद भएर देखा पर्दैछ।’










