कालचिनी – भारत भोटाङ सीमान्त सहर जयगाउँमा आज दिउँसै पीएनबी ब्याङ्कमा रुपियॉं जमा गर्न आएको एकजना कोरियर कर्मचारीलाई नकली बन्दुकको आड़मा लुटपाट गर्न खोजिएको घटनाले सनसनी मच्चिएको थियो| प्राप्त जानकारीअनुसार कोरियर सेवा गर्ने एकजना युवकले आज जयगाउँ एनएस रोडस्थित पीएनबी ब्याङ्कमा रकम जमा गर्न आएको थियो|
ब्याङ्कको गेटमा पस्न लाग्दा पछाड़ीबाट एकजना नकाबपोश बदमाशले बन्दुक ठेकाएर पैसाको ब्याग थुत्न खोजेको थियो तर उक्त कोरियर कर्मचारी युवकले झटकाएर ब्याङ्कमा पस्दा उक्त नकाबपोश बदमाश त्यहॉंबाट असफल भएर भागेको थियो भने त्यस अज्ञात बदमाशले बन्दुक नजीकै नालामा फ्यॉंकेर कुलेलम ठोकेको थियो| घटनास्थलमा जयगाउँ थानाको पुलिसबल पुगेर छानबीन गर्दा नालामा फ्यॉंकिएको उक्त बन्दुक उद्धार गरेर जॉंच गर्दा नकली लाइटर गन रहेको थाह लागेको जनाएका छन्| तथापि आगामी २३ सेप्टेम्बरको दिन भोटाङ गेट खोल्ने आवेगले जयगाउँ बासिन्दाहरूमा हर्ष छाइरहेको बेला ठीक यसै अघि यसप्रकारको लुटपाटको घटनाले जयगाउँ बासिन्दाहरूमा ब्याकुलता छाएको छ|