दार्जीलिङ: हिजोघुम जोरबंगलो डिग्री कलेजको भवनमा भारतीय नेपाली साहित्यका सर्जक, कवि, सोधकर्ता अमला सुब्बा छेत्रीद्वारा लिखित कृति माङ्गेन्नाको विधिपूर्वक लोकार्पण गरियो। उक्त कार्यक्रम डा. वीणा हाङ्गखिमको अध्यक्षता, साहित्यकार विन्द्या सुब्बाको प्रमुख आतिथ्य, मणिका मुखिया, डा साङमू लेप्चा, डा. गीता छेत्री, नर्बु छेन्जोङ, केशव गुरूङ, मेनुका प्रधान, सुभद्रा बम्जन, चन्द्रमीत लक्सम, हर्कबहादुर सुब्बा राई, राजबहादुर राई, रीता ठकुरीको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। कवि योगिता राईद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रथममा अतिथि एवं अध्यक्षद्वारा दीप प्रज्ज्वलन गरिएपछि गायिका सृजना थामी, तामाङद्वारा सरस्वती वन्दना प्रस्तुत गरियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि एवम् दर्शकवर्गमा विशेषरूपमा स्वागत जनाउँदै डा. महेश दाहालले स्वागत सम्भाषण प्रस्तुत गरे। दार्जीलिङका प्रतिष्ठ अग्रज शास्त्रीय नृत्यांगना बसन्ती शाहद्वारा वन्दना नृत्य प्रस्तुत गरेपछि शमरहाङ्ग सुब्बाले मुन्धुमबारे विस्तृतरूपमा प्रकाश पारे भने लोकार्पित कृति माङ्गेन्नामाथि अनि लोकार्पित कृतिका कृतिकार अमला सुब्बाको कलममाथि आफ्नो विशेष टिप्पणी पनि प्रस्तुत गरेपछि उपस्थित अतिथिहरूको बाहुलीबाट माङ्गेनाको विधिवत लोकार्पण गरियो।
लोकार्पित माङ्गेन्नाको विमोचन कार्यक्रमलाई घुम जोरबंगलामा राखिनको उद्देश्य अनि माङ्गेनाभित्रको विशेष भावहरूलाई उल्लेख गर्दै आफ्ना जन्मथलो तथा माइत घुम रहेको हुनाले आफन्तहरूको सामीप्यमा रहेर विताएका क्षणहरूलाई आफ्नो परिकल्पनामा बाँध्दै आफ्नो मन्तव्य राख्दा राख्दै आफ्नी आमाको पनि प्रसंग उठेपछि केहीक्षण भावविभोर बनेर बोल्नसम्म सकिनन् सर्जक अमला सुब्बा।