असम: गोर्खा उन्नयन परिषद्ले एपीएससी उत्कृष्ट ३० छनौट परीक्षाको नतिजा घोषणा गर्यो सार्वजनिक

Chhetriya-Samachar-2

नन्द किराती देवान

गुवाहाटी: गोर्खा उन्नयन परिषद् (जीडीसी), असम सरकारद्वारा सञ्चालित एपीएससी उत्कृष्ट ३० छनौट परीक्षाको नतिजा आज गुवाहाटीमा सार्वजनिक गरिएको छ। परिषद्का अध्यक्ष प्रेम तमाङले आज गुवाहाटीस्थित कार्यालयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै बताए राज्यभरिका हजारौं प्रतिस्पर्धीहरूमध्येबाट ६६ जनालाई अन्तिम चरणको मौखिक परीक्षाका लागि छानिएको छ, जुन आइतवार, ३ अगस्त २०२५, गुवाहाटीको चाडक्य आइएएस एकेडेमी मा सम्पन्न हुनेछ।
जीडीसी एपीएससी उत्कृष्ट ३० योजना एक प्रमुख पहल हो, जसले प्रतिभाशाली तर आर्थिक रूपमा पिछडिएका गोर्खा युवाहरूलाई असम लोक सेवा आयोग ( एपीएससी) मार्फत राज्य सेवामा प्रवेश गराउने उद्देश्यले पहिचान र मार्गदर्शन गर्दछ। यस योजनाअन्तर्गत छनौट भएका विद्यार्थीहरूलाई ११ महिनासम्म चानक्य आइएएस एकेडेमी, गुवाहाटीमा निःशुल्क आवासीय तयारी कोचिङ प्रदान गरिन्छ, जसमा खाना र आवासको पूर्ण सुविधा समेत समावेश छ।
“यस वर्षको छनौट प्रक्रियामा राज्यका विभिन्न भागबाट हजारौं गोर्खा विद्यार्थीहरूको सहभागिता रहेको थियो। लिखित परीक्षापछि ६६ जनाले अन्तिम भाइभाका लागि योग्यता हासिल गरेका छन्,” अध्यक्ष प्रेम तमाङले भने। “यो भाइभा वरिष्ठ तथा सेवानिवृत्त आइएएस, आइपीएस, एसीएस, र एपीएस अधिकृतहरूको प्यानलद्वारा लिइनेछ, जसपछिको मूल्यांकनका आधारमा उत्कृष्ट ३० जनालाई उत्कृष्ट ३० कार्यक्रममा अन्तिमरूपमा छानिनेछ।”
केही वर्षदेखि लगातार सफलता पूर्वक सञ्चालनमा रहेको यस योजनाबाट पहिलेका ब्याचका धेरै सहभागीहरूले विभिन्न प्रतियोगी परीक्षाहरू पास गरी राज्यका विभिन्न निकायहरूमा कार्यरत छन्। योजना जीडीसीको दीर्घकालीन दृष्टिकोणअनुसार प्रशासनका सबै तहमा गोर्खा प्रशासनिक अधिकृत उत्पादन गर्ने लक्ष्यमा केन्द्रित रहेको छ।
अध्यक्ष तमाङले भने, “यो कार्यक्रम केवल कोचिङ मात्र नभई नेतृत्व निर्माणको अभियान हो। यस पहलमार्फत हामी प्रतिभाशाली तर स्रोतसाधन अभावमा रहेका गोर्खा युवाहरूलाई पछाडि पार्न नदिई, उनीहरूलाई उच्चतम स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्य राखेका छौं।”
यस घोषणाले गोर्खा समुदायमा उत्साह र आशा थपेको छ, र परिषद्ले राज्यभर गोर्खा विद्यार्थीहरूको शिक्षा र सशक्तीकरणका क्षेत्रमा लगातार रणनीतिक पहलहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement