गान्तोक: सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा उद्योग विभागीय मन्त्री छिरिङ टी. भोटियाले योक्समस्थित युमा माङहिमको भ्रमण गरे। विशेष गरेर युमा माङ् मेडिटेशन सेन्टर समितिको आग्रहमा उनले आधिकारिक भ्रमण गरेका हुन्। यस अवसरमा मन्त्री भोटियाले परम्पराअनुसार भक्तजन र समितिसँगै माङसेवा पूजा तथा आध्यात्मिक अनुष्ठानमा पनि सहभागिता जनाए। यस अवसरमा युमा माङ्हिम मेडिटेशन सेन्टर समिति योक्सम मंगताबोङ शाखाका अध्यक्ष बुद्धहाङ सुब्बाले मन्त्री भोटियालाई माङहिमको वर्तमान अवस्थाबारे जानकारी गराउँदै यसको विकास र पूर्वाधारहरूलाई लिएर ज्ञापन चढाए। उनले माङहिमको संरचनात्मक मरम्मति सुविधा र धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालनमा पर्ने आवश्यक स्रोतहरूको सहयोगको माग राखे। मन्त्री भोटियाले समितिद्वारा पेश गरेका मागहरू ध्यानपूर्वक सुनेपछि माङहिमको विकासका लागि राज्य सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।