सोनादा: भाषा सङ्गम प्रकोस्ट, न्यू अलिपुर महाविद्यालय कोलकाता एवं मुरलीधर कन्या महाविद्यालयको संयुक्त आयोजनामा तेस्रो पटक भानु जयन्ती अत्यन्त उत्साह, सांस्कृतिक रौनक र बौद्धिक सहभागिताका साथ पालन गरियो। न्यू अलिपुर महाविद्यालयको भाषा संगम प्रकोस्टको आयोजनामा सम्पन्न यस कार्यक्रमले भाषा संगम नामक बहुभाषिक पत्रिकाको तेस्रो अङ्क विमोचन गर्यो, जसमा १३ वटा विभिन्न भारतीय भाषाहरूमा साहित्यिक रचनाहरू प्रकाशित गरिएको थियो। यो खुला विषयवस्तुमा आधारित अङ्कले भारतको भाषिक र सांस्कृतिक विविधतालाई जीवन्त श्रद्धाञ्जली स्वरूप प्रस्तुत गर्यो। कार्यक्रमको शुरुवातमा उपस्थित विशिष्ट व्यक्तिहरुद्वारा आदिकवि भानुभक्तको तस्वीरमा पुष्प एवं माल्यार्पण अनि बिरुवालाई पानी हालियो। त्यसपछि भाषा संगम प्रकोस्टकी संयोजक डा. पूजा राईले हार्दिक स्वागत भाषण राखिन्। आफ्नो सम्बोधनमा उनले आदिकवि भानुभक्त आचार्यको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनिन्, “भाषा केवल सञ्चारको माध्यम होइन, यो आत्माको आवाज, संस्कृतिको प्रतिबिम्ब र पहिचानको प्रतीक हो।” उनका विचारहरूले विविधतामा एकता भन्ने भावनामा आधारित उत्सवको सार व्यक्त गरिन्।
कार्यक्रमकी प्रमुख अतिथि डा. जरिना खातून, कलकत्ता विश्वविद्यालयकी उर्दू प्राध्यापक—एक प्रख्यात बौद्धिक तथा कविले आफ्नो प्रेरणादायक उपस्थिति द्वारा कार्यक्रममा गरिमा थपिन् र पत्रिकाको समावेशी प्रयासको सराहना गरिन्। साथै न्यू अलिपूर महाविद्यालयका प्राचार्य डा. जयदीप सारंगी र आन्तरिक गुणस्तर सुनिश्चितता प्रकोस्ट संयोजक डा. ध्रुवज्योति ब्यानर्जी पनि कार्यक्रममा सहभागी भई अन्तर महाविद्यालय सहकार्य र सांस्कृतिक संवाद प्रवर्द्धन गर्ने यो पहलको प्रशंसा गरे। स्मरण रहोस् यस कार्यक्रम मुरलीधर कन्या महबिद्यालय सँग सहकार्यको अंश थियो भने उक्त महाविद्यालयबाट सह प्राध्यापक डा शशी सुब्बा अनि सह प्राध्यापक अनुराग लामाले प्रतिनिधित्व दिएका थिए। यस कार्यक्रममा सह प्राध्यापक याचना लामा(हेरम्भ चन्द्र कलेज, कोलकाता) र सह प्राध्यापक प्रविन सुब्बा(आशुतोष कलेज, कोलकाता) को पनि उपस्थिति रहेको थियो। पत्रिकाको औपचारिक विमोचनपछि, विभिन्न लेखकहरूले आफ्ना रचनाबाट अंश वाचन गरे, जसले विविध भाषा, स्वर र सांस्कृतिक अभिव्यक्तिहरूको प्रतिनिधित्व गर्यो। उनीहरूको वाचनले बहुभाषिक वातावरणलाई थप समृद्ध तुल्याएको थियो साथी पत्रिकामा समेटिएका विचारहरूको गहिराइ र विविधता उजागर गर्न सफल बन्यो। यस कार्यक्रममा विभिन्न महाविद्यालयका शिक्षक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले यसलाई एक साझा शैक्षिक तथा सांस्कृतिक जमघट बनाएको थियो। कार्यक्रमको समापन भानुभक्तको कविता नेपाली अनि बांग्ला भाषामा पठन एवं धन्यवाद ज्ञापनको साथमा गरियो।