गान्तोक: सिक्किम राज्यको विकासलाई तीव्र गतिमा अघि बढाउन राज्य सरकारले इन्स्टीट्यूट फर ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) को स्थापना गरेको छ। आज मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा उनको सरकारी आवास मिन्तोकगाङमा यस संस्थानको पहिलो बैठक सम्पन्न भयो। बैठकमा आईटीएसका उपाध्यक्ष चन्द्र प्रकाश शर्मा, सदस्यहरू श्रीमती गंगा देवी प्रधान, श्रीमती नम्रता थापा, डा. साङ्गे दोर्जी भुटिया, डा. भरत चन्द्र बसिष्ठ, श्री जेम्स सारिङ लेप्चा, डा. नीरज अधिकारी र सदस्य सचिव रिन्जिङ छेवाङ भुटिया, जो योजना तथा विकास विभागका सचिव पनि हुन्, उपस्थित थिए।
बैठकमा मुख्यमन्त्रीले सबै सदस्यहरूलाई स्वागत गर्दै राज्यले सामना गरिरहेका प्रमुख विकासात्मक चुनौती र अवसरहरूबारे विस्तृत रुपमा छलफल गरे। छलफलपछि, मुख्यमन्त्रीले आईटीएसका लागि प्रमुख निर्देशन र जिम्मेवारीहरू पनि राखे।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, “यस संस्था सिक्किमको लागि परिवर्तनकारी शक्तिको रूपमा कार्य गर्नेछ, जसले रणनीतिक दृष्टिकोण, प्राविधिक विशेषज्ञता र सामुदायिक सहभागितालाई एकसाथ ल्याएर समग्र र दिगो विकासलाई प्रोत्साहन गर्नेछ।”