गान्तोक: सिक्किम अमेच्यूर बक्सिङ एसोसिएशन (साबा) को तत्वावधानमा आयोजित १९औं सब जुनियर एवं २०औं जुनियर बोइस एण्ड गर्लस सिक्किम स्टेट बक्सिङ च्याम्पियनशीप २०२५ को हिजो समापन भयो। स्थानीय रेशीथाङ स्पोर्ट्स कम्प्लेक्समा आयोजित यस तीन दिने स्टेट बक्सिङ च्याम्पियनशीप २०२५ मा राज्यभरिका जम्मा १०८ जना युवा बक्सरले सहभागिता जनाएका थिए।
च्याम्पियनशीपको समापन समारोहमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा मुख्य अतिथि रहेका थिए। यसरी नै सड़क एवं पुल मन्त्री एनबी दाहाल र क्षेत्र विधायक श्रीमती कला राईको पनि विशेष उपस्थिति रहेको थियो। यस अवसरमा राज्यमा खेल अनि खेलाड़ीहरूको विकासमा उल्लेखनीय योगदान पुऱ्याएकोमा पुराना ब्याडमिन्टन खेलाड़ी यापचुङ काजी, प्रशासक राम बहादुर विश्वकर्मा र सिक्किम स्टेट लटरीका प्रधान निर्देशक पवन अवस्थीलाई अभिनन्दन जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विधानसभा अध्यक्ष एमएन शेर्पाले युवा खेलाड़ीहरूलाई प्रोत्साहित गर्दै पढ़ाईसँगै खेललाई पनि गम्भीरतासित लिने आह्वान गरे।
स्टेट बक्सिङ च्याम्पियनशीप २०२५ मा जुनिय बोइस वर्गमा गान्तोक जिल्ला च्याम्पियन बनेको छ भने सब जुनियर गर्ल्स र जुनियर बोइस वर्गमा नाम्ची जिल्ला च्याम्पियन बनेको छ।