सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा निम्न सोनादा कमिटी र सोनादा टाउन कमिटीको संयुक्त आयोजनामा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। पार्टीको सांगठनिक मजबूती र आगामी कार्यदिशाका विषयमा केन्द्रित उक्त सभामा दुबै कमिटीका प्रतिनिधिहरू तथा भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार, यो सभा गोरामुमोको सांगठनिक ढाँचा अझ सशक्त बनाउने र जनस्तरमा पार्टीको पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। उनले बताएअनुसार विभिन्न सांगठनिक रणनीति, कार्यविभाजन, र स्थानीयस्तरमा जनसम्पर्क अभिवृद्धि गर्ने विषयमा पनि गहन छलफल गरिएको थियो। सभाले एकताको सन्देश प्रदान गर्नुका साथै पार्टीको सांगठनिक संरचना झन सुदृढ बनाउने दिशामा सकारात्मक ऊर्जा थपेको सहभागीहरू बताउँछन्।
यस किसिमका समन्वययुक्त भेलाहरूले गोरामुमोको सांगठनिक पक्षलाई जनस्तरमा अझ नजिक पुर्याउने विश्वास लिइएको छ।