खरसाङ: जीटीए क्षेत्रमा आगामी २० अगस्त वा भाषा मान्यता दिवसभित्रमा सबै साइन बोर्डहरु नेपाली भाषामा लेखिनु पर्ने युवा शक्ति केन्द्रीय समितिको महासचिव सदीप प्रधानले आह्वान् गरेका छन्। नेपाली भाषा प्रयोगलाई लिएर युवा शक्तिको यो अन्तिम आह्वान् रहेको पनि उनले जनाएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधानले एउटा भिडियो जारी गर्दै जीटीए क्षेत्रमा रहेको विभिन्न सरकारी, गैर सरकारी कार्यालयहरु, विभिन्न विद्यालयहरु, गाडीको सेण्डीकेटतिर साथै सबैतिर नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने आह्वान् गरेका छन्। उनले यो आह्वान् अन्तिम आह्वान् हुने र २० अगस्तदेखि अथवा भाषा मान्यता दिवसपछि युवा शक्तिले नेपाली भाषा प्रयोगलाई लिएर गम्भीरतापूर्वक लिएर अघि बढ्ने भएको बताएका छन्। युवा शक्ति केन्द्रीय महासचिव सदीप प्रधानले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट 3 सेप्टेम्बर २०२४ मा नेपाली भाषा प्रयोगलाई लिएर अधिसूचना जारी गरिएको र यस कार्यलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले युवा शक्तिलाई जिम्मेवारी दिइएको थियो अनि उक्त जिम्मेवारीलाई युवा शक्तिले लगातार कार्य गरिरहेको बताएका छन्। उनले युवा शक्तिको तर्फबाट नेपाली भाषा प्रयोगलाई लिएर यस वर्षको अप्रेल महिनादेखि कार्य गर्दै आईरहेको र यसमा कतिजानाले पालन गर्दै नेपाली भाषामा साइन बोर्डहरु लेख्ने कार्य गरेको तर कतिले अहिलेसम्म नगरेको भन्दै अब सबैले २० अगस्त भाषा मान्यता अघि नेपाली भाषामा लेख्नु पर्ने आह्वान् गरेका छन्। यस विषयमा भने, जीटीए क्षेत्रमा सबैतिर साइन बोर्डहरु अन्य भाषासितै नेपाली भाषामा पनि लेखिनु पर्ने हुन्छ। हामीले केवल नेपाली भाषामा मात्रै लेखिनुपर्छ भन्ने होइन तर अन्य भाषाहरूसितै नेपाली भाषामा पनि साइन बोर्डहरु अनिवार्य रुपमा लेखिनु पर्ने हुन्छ। हामी २० अगस्तपछि नेपाली भाषा प्रयोगलाई लिएर जोडदारले कार्य गर्दै २३ अगस्तदेखि दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक लगायत सबैतिर सभाहरु गरेर, रैलीहरु गरेर साथै विभिन्न प्रकारले नेपाली भाषा प्रयोगलाई लिएर जोडदारले कार्य गरिनेछ।’