वेष्ट इण्डिजविरुद्ध टी२० सीरीज ५-०-ले क्लीन स्वीप गर्न सफल भयो अष्ट्रेलिया

IMG-20250729-WA0074

सेण्ट किट्स: अष्ट्रेलियाले आफ्नो फर्मलाई कायम राख्दै पाँचौं तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पनि आयोजक वेष्ट इण्डिजलाई ३ विकेटले पराजित गऱ्यो। यस जीतको साथ अष्ट्रेलियाले ५ वटा टी२० म्याचको सीरीज ५-०-ले क्लीन स्वीप गऱ्यो। अष्ट्रेलियाले यसअघि ३ वटा टेस्ट म्याचको सीरीजमा पनि वेष्ट इण्डिजलाई ३-०-ले पराजित गरेको थियो। यसरी अष्ट्रेलियाले ८-०-ले जीतको साथ आफ्नो वेष्ट इण्डिज यात्राको अन्त गऱ्यो। अष्ट्रेलियाको यस अभूतपूर्व सफलतामा टसले पनि ठूलो भूमिका निर्वाह गऱ्यो। लगातार आठौंपल्ट टस जितेर अष्ट्रेलियाले पाँचौं तथा अन्तिम टी२० म्याचमा वेष्ट इण्डिजलाई पहिला ब्याटिंग गर्न पठायो। वेष्ट इण्डिज १९.४ ओभरमा १७० रन बनाएर अलआउट भयो। त्यसपछि अष्ट्रेलियाले १७ ओभरमा ७ विकेटमा १७३ रन बनाएर म्याच जित्यो। म्याचमा पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजको शुरुवात खराब रह्यो अनि ३२ रनमै ३ विकेटको पतन भइसकेको थियो। शीर्ष ३ जना ब्याटर भटाभट आउट भएपछि शिमरोन हेटमायरले जिम्मेवारीको साथ खेल्दै अर्द्धशतक बनाए। उनले शेरफेन रदरफोर्डसँग मिलेर स्कोर ६४ रनसम्म पुऱ्याए। रदरफोर्डले १७ बलमा ३५ रन बनाए, जसमा ६ वटा चौका र एउटा छक्का सामेल छ। रदरफोर्ड आउट भएपछि हेटमायरले जेसन होल्डरबाट संक्षिप्त साथ पाए। होल्डरले २० रन बनाए। असल ब्याटिंग गरिरहेको हेटमायर १७औं ओभरमा आउट भए। उनले ३१ बल खेलेर ३ वटा छक्का र ३ वटा चौकाको साथ ५२ रन बनाए। वेष्ट इण्डिजको तल्लो क्रममा म्याथ्यू फोर्डले १५ र अकील होसेनले ११ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा बेन ड्वारशुइसले सर्वाधिक ३ विकेट लिए। यसरी नाथन एलिसले २ विकेट हासिल गरे।
लक्ष्यलाई पीछा गर्दै अष्ट्रेलियाको पनि शुरुवात खराब रह्यो अनि २५ रनमै ३ विकेटको पतन भइसकेको थियो। कप्तान मिचेल मार्श १४ र जोश ईंग्लिश १० रन बनाएर आउट भए जबकि ग्लेन म्याक्सवेलले खाता पनि खोलेनन्। खराब शुरुवातपछि मध्यक्रमको उत्कृष्ट ब्याटिंगले अष्ट्रेलियालाई जीत दिलायो। मध्यक्रममा मिचेल ओवनले सर्वाधिक ३७ रन बनाए। उनले १७ बल खेलेर ३ वटा चौका र ३ वटा छक्का लगाए। यसरी क्यामरन ग्रीनले ३२, टिम डेविडले ३० र आरोन हार्डीले अविजित २८ रन बनाए। यसमा डेविडले १२ बल खेलेर ४ वटा छक्का र एउटा चौका लगाए। ड्वारशुइसले ९ र सीन एबटले अविजित ५ रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा स्पिनर अकील होसेनले ३ विकेट लिए। अष्ट्रेलियाका बेन ड्वारशुइसले प्लेयर अव् द म्याच र क्यामरन ग्रीनले प्लेयर अव् द सीरीजको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement