गान्तोक: भारतीय जनता पार्टी, सिक्किमको गान्तोक जिल्लास्तरीय मण्डल समिति गठन गरिएको छ। आज स्थानीय तादोङ आम्दो गोलाईस्थित पार्टीको नगर कार्यालयमा बसेको बैठक अवधि यो समिति गठन गरिएको हो। बैठकलाई प्रदेश अध्यक्ष तथा पूर्व विधायक डीआर थापाले अध्यक्षता गरेका थिए।
आजको बैठकमा गान्तोक जिल्लाका सबै मण्डलस्तरको समिति गठन गरिएको पार्टीले प्रेस विज्ञप्ती जारी गरेर जानकारी गराएको छ। जिल्लामा त्रृणमूल स्तरमा सङ्गठन विस्तारको निम्ति मण्डल समितिहरूको गठन आत्यावश्यक रहेको पार्टीले ठहर गरेको छ। नवमनोनित मण्डल सदस्यहरूलाई पार्टी अध्यक्ष थापा अनि अन्य केन्द्रीय कार्यकारी सदस्यहरूले आधिकारिक रुपमा स्वागत जनाए।
सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले पार्टीको साङ्गठनिक विस्तारमा कार्यकर्ताहरूबीच असल तालमेल र समन्वयमाथि जोर दिए। यसको साथै उनले पार्टीका नेता अनि कार्यकर्ताहरूलाई विभिन्न केन्द्रीय जनकल्याणकारी योजनाहरूलाई राज्यमा प्रभावकारी ढङ्गमा लागु गराउने अभियानलाई निरन्तरता दिने आग्रह पनि गरेका छन्।
यसरी नै सबै जिल्लामा मण्डल समितिको गठन पछि जिल्ला अनि राज्यस्तरीय समिति गठन गरिने सिक्किम प्रदेश भाजपाले जानकारी गराएको छ।