गान्तोक: राजधानीस्थित मनन केन्द्रमा अन्तर्राष्ट्रीयस्तरीय नृत्य प्रतियोगिताको अडिसन शुरू भयो। राज्यमा पहिलोपल्ट यस प्रकारको आडिसन भएको हो। अडिसन आयोजक सिक्किम क्रान्तिकारी मोर्चाको सांस्कृतिक प्रकोष्ठका उपाध्यक्ष टाशी छिरिङ भोटियाले जानकारी गराएअसार राज्यका प्रतिभाशाली कलाकारहरुलाई राज्यबाहिरको मञ्चमा उभ्याउने ध्येयले यस प्रतियोगिताको अडिसन गान्तोकमा आयोजन गरिएको हो। दुई दिवसीय अडिसनमा दार्जीलिङ, कालेबुङ, सिलगढी लगायत अन्य विभिन्न राज्यका कूल चारसयभन्दा अधिक प्रतियोगीहरूले सहभागिता जनाउने अवगत गराए। अहिले पनि राज्य बाहिरका प्रतिभाहरूले निरन्तर सम्पर्क गरिरहेको र अडिसनबारे जानकारी लिने काम गरिरहेको बताए। राज्यमा प्रथमपल्ट अन्तर्राष्ट्रीयस्तरको नृत्य प्रतियोगिताको अडिसन आयोजन गरेको र यस अडिसनबाट केवल दस जनालाई मात्र छनौट गरिने भएको छ। अडिसन सिक्किममा मात्र नभएर देशको विभिन्न राज्यमा पनि भइसकेको र सिक्किम राज्यमा भने अन्तिम चरणको अडिसन रहेको अवगत भोटियाले गराए। प्रतियोगीहरू धेरै भएको कारणले गर्दा अडिसन दुई दिनसम्म चल्ने जानकारी गराए। राज्य बाहिर अडिसन हुँदा राज्यका कलाकारहरूले धेरै समस्या झेल्नु पर्ने भएको हुँदा मुख्यमन्त्री तामाङले राज्यमा नै अडिसन गराउने सुझाउ दिएका उल्लेख गर्दै उनले यसबाट धेरै प्रतिभाहरुले मौका पाउने बताए। यसै क्रममा एसकेएम सांस्कृतिक प्रकोष्ठका राज्यस्तरीय समन्वयक मनोज तामाङले दोस्रो दिनको अडिसनमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा र बुर्तुक निर्वाचन क्षेत्रका विधायक कला राई लगायत अन्य विशिष्ट व्यक्तिहरु उपस्थित रहने जानकारी गराए। उनले थप जानकारी गराएअनुसार प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौंमा हुनेछ। राज्यका कलाकारहरूले बाहिरका कलाकारहरूसँग प्रतिष्पर्धा गरेर अनुभव लिने अवसर अर्थात मञ्च पाउने बताउँदै यसलाई केन्द्र गरेर प्रकोष्ठले सबै तारतम्य गरेको बताए। उनले राज्यका सम्पूर्ण प्रतिभाहरूलाई एसकेएम सांस्कृतिक प्रकोष्ठले उपलब्ध गराएको मञ्चबाट लाभ उठाउने आग्रह गरे। प्रतियोगितामा स्थानीय कलाकारहरूले आफ्नो जातिको भेषभुषामा कला प्रदर्शन गर्न सक्ने बताएका छन्। विशेष गरेर राज्यको पारम्परिक कला र संस्कृतिको संरक्षण गर्ने अर्को उद्देश्य रहेको उनको भनाइ रहेको छ। सिक्किमको परम्परा, भेषभुषा र संस्कृतिलाई चिनाउने लक्ष्य राखेर यस प्रकारको पहल शुरू गरेको उनले बताए। यस प्रतियोगिताको निर्णायक मण्डलीमा ख्यातिप्राप्त कोरियोग्राफर समर्पण लामा, नोर्बू लामा र फ्लोरिना गोगोइ रहेका छन्।