दार्जिलिङ: क्रामाकपा केन्द्रीय कमिटी महासचिव नर्बु लामाको नेतृत्वमा आज क्रामाकपाका सात सदस्यीय शीर्ष टोलीले विभिन्न मांगहरू लिएर जिल्लापालको अनुपस्थितिमा उप – जिल्लापाल खुर्शीद अली कादरीलाई ज्ञापन बुझाएका छन्। क्रामाकपाद्वारा उप जिल्लापाललाई ज्ञापन दिएपछि पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा सचिव मण्डलीय सदस्य अरुण घतानीले आज क्रामाकपाद्वारा सात सदस्यीय टोलीले विभिन्न मांगहरूलाई लिएर ज्ञापन पत्र बुझाएको बताएका छन्। उनले बताए अनुसार क्रामाकपाले विगत अगस्त महिनादेखि विभिन्न विषयहरूमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई विभिन्न खण्ड विकास अधिकारीमार्फत् ज्ञापन पत्र बुझाएको र यसै क्रममा आज जिल्लापाललाई ज्ञापन दिएको बताएका छन्।

उनले भने, हामीले जिल्लापालसित भेट्नलाई गत १६ सेप्टेम्बरको दिन नै समय मागेका थियौं तर समय नमिलेपछि आज हामीले जिल्लापालको अनुपस्थितिमा उप जिल्लापाललाई भेट गरी विभिन्न मांगहरू लिएर चर्चा परिचर्चा गर्दै ज्ञापन पत्र बुझाएका छौं। घतानीले अझ भने, यस मांग पत्रमा हामीले पहाड़को ७० प्रतिशत भूभाग ग्रामीण क्षेत्र पर्ने अनि विगत १७ वर्षदेखि ग्रामीण क्षेत्रमा रहेका जनसाधारणले पञ्चायत चुनाव नभएकोले धेरै असुविधा झेल्न परिरहेको हुनाले पञ्चायत चुनाव गरिनु पर्ने मांग गरेका छौं।

त्यसरी नै पहाड़मा रहेको ग्राम पञ्चायतहरू र खण्ड विकास कार्यालयहरूलाई विभाजन गरेर अझ बेसी बनाउनु पर्ने लगायत अन्य धेरै विषयहरूमा चर्चा परिचर्चा गर्दै ज्ञापन पत्र बुझाएका छौं।