सिलगढी: एसएससीका पूर्व चेयरम्यान तथा हाल उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबिरेस भट्टाचार्यलाई सीबीआईले आज शिक्षक नियुक्ति घोटालाको आरोपमा पक्राउ गरेको छ। शिक्षक नियुक्ति घोटालामा सुबिरेस भट्टाचार्य पनि संलग्न रहेको आंशकापछि सीबीआईले तिनीसित सोधखोज गरिरहेको थियो। भ्रष्टाचार मामिलाबारे केही दिन अघि पनि सीबीआई उत्तरबंग विश्वविद्यालयमा आएर सुबिरेस भट्टाचार्यको आवास र कार्यालयको छानबीन गरेको थियो भने तिनको कोलकातास्थित बासद्रोणीको फ्ल्याट पनि सीबीआई ले सिल गरिदिएको छ। सीबीआई ले छानबीन गरेपछि अन्ततः आज सुबिरेस भट्टाचार्यलाई पक्राउ गरेको छ स्मरण रहोस्, यसभन्दा अघि पनि शिक्षक नियुक्ति घोटाला मामिलामा स्कुल सर्भिस कमिश्नरका पूर्व सल्लाहकार समिति सदस्य शान्तिप्रसाद सिन्हा र अशोक साहालाई सीबीआई ले पक्राउ गरिसकेको छ। यस मामिलामा मध्य शिक्षा परिषदका पूर्व अध्यक्ष कल्याणमय गङ्गोपाध्याय पनि पक्रा परिसकेका छन्। यसको साथै पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई अगावै सीबीआई ले पक्राउ गरेर हिरासतमा लिएर सोधखोज गरिरहेको छ। पक्रा परेका उत्तरबंग विश्वविद्यालयका उप कुलपति सुबिरेस भट्टाचार्य विगत २०१४-१८ सम्म एसएससी का चेयरम्यान पदमा नियुक्त थिए।











