वाईटी लेप्चालाई पचेन भाजपा-बाट निष्कासनको समाचार

IMG-20250726-WA0156

गान्तोक: पूर्व विधायक तथा हाल सिक्किम सरकारको परिवहन विभागका अध्यक्ष वाईटी लेप्चाले आफूलाई भारतीय जनता पार्टीले निष्कासन गरेको कुरालाई पचाएका छैनन्। पार्टीले आफूलाई निष्कासन गरेको समाचार प्रकाशमा आएपछि उनले यसमाथि प्रतिक्रिया जनाउँदै यो निर्णय वैधानिक, पार्टीको नीति र प्रक्रिया विरुद्ध रहेको ठहर गरेका छन्। यसको साथै उनले यस निष्कासनलाई मान्न अस्वीकार गरेका छन्। सिक्किम प्रदेश भाजपा-ले हिजो एउटा प्रेस विज्ञप्ती जारी गरेर वाईटी लेप्चालाई पार्टीको प्राथमिक सदस्यतासमेतबाट निष्कासन गरिएको जानकारी गराएको छ। उनीमाथि पार्टी विरोधी गतिविधिमा लिप्त रहेको आरोप छ। उल्लेखनीय कुरा के छ भने हिजो मात्र पूर्व विधायक वाईटी लेप्चाले एसकेएम सरकारमा परिवहन विभागका अध्यक्षको कार्यभार ग्रहण गरेका थिए।
भारतीय जनता पार्टी जस्तो सुसंहितापूर्ण राष्ट्रीय पार्टीमा कुनै पनि सदस्यको निलम्बन वा निष्कासन प्रक्रियागत हुन्छ, जसमा चेतावनी, स्पष्टीकरण वा कारण देखाउ पत्र अनिवार्य हुन्छ। तर, मेरो सन्दर्भमा यस्तो कुनै प्रक्रिया नअपनाई गैरजिम्मेवारपूर्वक समाचार बाहिर ल्याइनु गम्भीर विषय हो, लेप्चाले प्रेस विज्ञप्ती जारी गरेर भनेका छन्।
लेप्चाले उल्टा सिक्किम प्रदेश भाजपामा केही सदस्यहरूले पार्टी र भाजपा-एसकेएम गठवन्धन सरकार विरुद्ध काम गरिरहेको आरोप लगाएका छन्। म भारतीय जनता पार्टीको केन्द्रीय नेतृत्वसँग आग्रह गर्दछु कि पार्टीभित्र बसेर प्रतिगामी गठबन्धनका पक्षमा कार्य गर्ने यस्ता व्यक्तिहरूको गम्भीर समीक्षा गरियोस् र आवश्यक अनुशासनात्मक कारबाही अगाडि बढाइयोस्, उनले विज्ञप्तीमा भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement