गान्तोक: पत्र सूचना कार्यालय, गान्तोक र ईपीएफओ, सिक्किमले आज संयुक्त रूपमा राजधानीस्थित एक होटलमा प्रधानमन्त्री विकसित भारत रोजगार योजनामाथि एक पत्रकार सम्मेलन आयोजन गऱ्यो। पत्रकारहरूलाई सम्बोधन गर्दै गान्तोकका क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ नामथक तेञ्जिङले पत्रकार सम्मेलन आयोजना गरिनुको उद्देश्य र योजनाको लाभमाथि प्रकाश पार्दै राज्यका मानिसहरूलाई आगामी १ अगस्तदेखि देशभरि शुरु हुने योजनाको लाभ कसरी प्राप्त गर्न सक्छन् सोबारेमा जानकारी गराए। उनले प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले पहिलो पटक नोकरी गर्ने कर्मचारीहरू साथसाथै उनीहरूका परिवारहरुलाई पनि धेरै लाभ प्राप्त हुने उल्लेख गरे। योजना राशि ९९,४६६ करोड रुपियाँ छ भने यसले भारतका ३.५ करोडभन्दा अधिक नागरिकहरूलाई लाभ पुऱ्याउने जानकारी गराए। पहिलो पटक नोकरी गर्ने कर्मचारीहरूलाई जसको वेतन १५,००० रुपियाँसम्म छ, उनीहरूलाई प्रोत्साहन गर्न भारत सरकारले दुई किस्तामा अनुदान दिने भन्दै उक्त राशि ६ महिनापछि र अर्को बाह्र महिनापछि दिइने बताए। तेञ्जिङले अझ भनेअनुसार लाभार्थी कर्मचारीलाई उमङ्ग ऐपको माध्यमद्वारा फेस रिकग्निशन प्रविधिको माध्यमद्वारा १२ अङ्कको यूनिभर्सल एकाउन्ट नम्बर जेनरेट गर्नुपर्छ।