गान्तोक: स्वास्थ्य तथा परिवार कल्याण विभागको राष्ट्रिय किशोर स्वास्थ्य कार्यक्रमअन्तर्गत स्कूल स्वास्थ्य तथा कल्याण कार्यक्रमबारे कार्यशाला समाप्त भयो। निजी स्कूलमा जीवन कौशल पाठ्यक्रमको कार्यान्वयन हेतु राज्यका निजी विद्यालयका ६२ शिक्षकहरू, निम्न माध्यमिक र उच्त माध्यमिक विद्यालयहरूका दुई-दुई शिक्षकहरूको लागि आयोजित चार दिवसीय आवासीय कार्यशाला हिजो एससीईआरटी, बुर्तुकमा समापन भएको हो। कार्यशालाको आयोजन सिक्किम इन्स्पायर्सको सहयोगमा गरिएको थियो। चार दिवसीय कार्यशालाका लागि मुख्य प्रशिक्षकहरू क्रमैले डा. कर्मा छोडेन भोटिया, डा. सोनाम ओङ्मु लासोपा, गान्तोकका अर्बन प्राथमिक स्वास्थ्य केन्द्रकी स्वास्थ्य शिक्षा अधिकारी नोडे लाचुङ्पा थिए। कार्यशालाले शिक्षकहरूलाई जीवन कौशल पाठ्यक्रममा प्रशिक्षित गर्ने लक्ष्य राखेको थियो। मुख्य रूपमा एनसीईआरटीद्वारा विकसित मोड्युलहरू अनुसार ११ क्षेत्रमा केन्द्रित छ। प्रशिक्षणको दोस्रो दिन, एससीईआरटीका संयुक्त निर्देशक डा. शान्तिराम अधिकारीले तनाउ प्रबन्धन सम्बन्धी एक सत्रमा भाग लिँदै तालिमबारे जानकारी गराए। मुम्बईबाट आएकी सुविधा गायकवाड़ले चोटपटकविरुद्ध रक्षा अनि सुरक्षित इन्टरनेट साथै सामाजिक सञ्जाल प्रयोगको प्रवर्द्धन सम्बन्धी सत्रमा भाग लिए। शिक्षकहरूले आ-आफ्नो विद्यालयमा स्वास्थ्य तथा कल्याण राजदूतकोरूपमा काम गर्नेछन् र एसएचडब्ल्यूपी आवेदनमा यसको लागि वास्तविक समय रिपोर्टिङको साथ प्रत्येक मङ्गलवार एक घण्टाको कक्षा सत्र सञ्चालन गर्नुपर्ने तय गरिएको छ। जीवन कौशल कक्षा सत्रहरूको उद्देश्य बालक-बालिकाहरूलाई दैनिक चुनौती र समस्याहरूलाई प्रभावकारी रूपमा समाधान गर्नका लागि तयारी गर्नु रहेको छ। कार्यशालाको लागि एक समापन सत्र पनि आयोजन गरिएको थियो।
समापन सत्रमा एससीईआरटीका निर्देशक डा. रविन छेत्री र संयुक्त निर्देशक डा. शान्तिराम अधिकारी पनि उपस्थित थिए। अन्तर्क्रिया सत्र निजी विद्यालयका शिक्षकहरूले बाल-बालिकाको समग्र विकासमा लाभ पुग्ने बताए।