८ मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एकै दिनमा तीनवटा पूर्वाधारको उदघाटन गरे। जसमा होलीक्रस विद्यालयको निम्ति निर्मित फुटओभर पुल, तादोङ डाँडा गाउँमा नवनिर्मित सिक्किम राज्य ब्याङक शाखा कार्यालय र देउरालीमा पुलिस आउटपोस्ट रहेको छ। यसक्रममा मुख्यमन्त्रीले आज एमपी गोलाईमा फूलको बिरूवा रोपे। उनका साथमा क्षेत्र विधायक तथा स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङगेलले पनि बिरूवा रोपे। सोही प्रकारले गत १५ जुलाईदेखि तादोङ निर्वाचन क्षेत्रले शुरू गरेको बिरूवारोपन कार्यक्रममा सहभागी बन्दै निरीक्षण पनि गरे। उल्लेखनीय छ, गत १५ जुलाईदेखि तादोङ निर्वाचन क्षेत्रअन्तर्गत रानीपुलदेखि पानी हाउसम्म बिरूवारोपन साथै सर सफाई कार्यक्रम सञ्चालन गरिएको थियो। जसको समापन आज भयो। विशेष गरेर जोरधारामा बनाएको फूलको बेडको पनि मुख्यमन्त्रीले अवलोकन गरे। समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले इच्छा छ भने उपाय निस्किने उदाहरण तादोङ निर्वाचन क्षेत्रका विधायकले प्रस्तुत गरेको बताए। तादोङ डाँडागाउँ गाउँ नभएर शहरकोरूपमा परिणत भएको र यस्तो ठाउँमा पनि उनले सडक किनारमा फूलको बिरूवाहरू रोपेर उदाहरणीय कार्य गरेकोमा खुशी प्रकट गरे। यस प्रकारको पहलले पर्यटकहरूको मन जित्न सक्ने सम्भावना व्यक्त गर्दै यसलाई सफल तुल्याउन श्रमदान गर्नेहरूलाई धन्यवाद दिँदै यो व्यक्तिगत विकास नभएर सामुहिक विकास र राज्यको हितमा रहेको बताए। कनेक्ट टु अर्थ हरियाली सिक्किमको निम्ति श्रमदान थिममा आयोजित कार्यक्रममा क्षेत्र विधायक ढुङ्गेलले क्षेत्रबाट धेरैजना मन्त्री विधायक बने तर जनताले सोचेअनुरूप काम गर्न नसकेको दाबी गरे। एसकेएम पार्टी सरकारमा आएपछि यस क्षेत्रमा धेरै पूर्वाधार विकास भएको दावी गरे।

हाल यस निर्वाचन क्षेत्रमा सडक विस्तार, सामुदायिक भवन, फुट ओभर ब्रिज जस्ता धेरै विकासीय कार्यहरू निर्माणाधीन अवस्थामा रहेको बताए। कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा लगायत अन्य उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।