दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाको पहिलो सभा आज दार्जिलिङको गोर्खा रङ्गमञ्चक भवनको जीटीए सभा कक्षमा सम्पन्न भएको छ। सभामा ४४ जना निर्वाचित सभासद अनि ५ जना मनोनित सभासदहरूको उपस्थिति थियो। सभामा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका मुख्य सचिव एस पुनम्बलमको पनि उपस्थिति रहेको थियो।
सभालाई जीटीएको चेयरम्यान अन्जुल चौहानले सञ्चालन गरेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनाव समय घोषणा गरेका थिए कि यदि जीटीए सभा गठन गर्नु सकेको खण्डमा गोर्खाल्याण्डको डायलगलाई पुनः खोल्न जीटीए सभाको पहिलो सभामा नै प्रस्ताव राखिने छ।

जानकारी अनुसार आज जीटीए सभाले सर्वसम्मतिले गोर्खाल्याण्डको डायलग खोल्न प्रस्ताव लिएर पारित गरेको छ। आज सभाले विभिन्न मुख्य मुद्दाहरूलाई लिएर प्रस्तावनाहरू पारित गरेका छन्। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको चेयरम्यान अञ्जुल चौहान र भाइस चेयरम्यान राजेस चौहानले अाजको सभा विषयमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार आजको सभामा ११ पल्ट गोर्खाल्याण्डको डायलग चलेर पनि बन्द भएको हो र गोर्खाल्याण्डको वार्तालाई पुनः खोल्नुपर्छ भनी प्रस्ताव पारित गरेको छ। त्यसरी नै दागोपाप समय अस्थायी रूपमा नियुक्त भएका कर्मचारीको स्थायीकरण गरिने विषय, गोर्खाको छोडिएका ११ जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने जीटीए चुक्तिमा नै उल्लेख गरिएको छ भन्दै त्रिपक्षीय चुक्तिको आधारमा सम्झौता गरे अनुसार ११ जात गोष्ठीलाई जनजातिको मान्यता दिइनु पर्ने, जीटीए सम्झौता अनुसार ग्रुप बी, सी अनि डि तहका कर्मचारीहरूलाई नियुक्ति दिने प्रावधान भएकोले नियुक्ति गर्न बोर्डको गठन गरिनुपर्छ र यसको लागि एसएससी बोर्ड गठन गरिनु पर्छ भनी प्रस्ताव पारित गरिएको छ। त्यसरी नै जीटीए अन्तर्गत आउने विद्यालयहरुमा शिक्षक नियुक्ति गर्न एसएससीको गठन हुनु पर्ने मांग गरिएको छ भने एसएससीमार्फत् अहिले स्कूलहरुमा स्वयं सेवकहरूको रूपमा काम गरिरहेका शिक्षकहरुलाई पनि नियुक्ति दिइएको हुनुपर्छ भनी सभाले प्रस्ताव पारित गरेको छ। त्यसरी नै चिया बगान अनि सिन्कोना बगानका वासिन्दाहरूले पर्जापट्ट अहिलेसम्म पाएका छैनन् र पर्जापट्टा पाउनुपर्छ, जीटीए सभामा ४४ जना निर्वाचित सभासदहरू छन् र दुईवटा समष्टिको सिट अनुसूचित जनजातिको निम्ति सुरक्षित राखिनु पर्नेछ, सिलगढी महकुमा अनि जलपाईगुडी जिल्लाबाट ५ वटा मौजालाई जीटीए क्षेत्रमा गाँभिनु सकिने सुझाव श्यामल सेन कमिशनको रिपोर्टले दिएको थियो र यी क्षेत्रलाई जीटीए क्षेत्रमा गाँभिनुपर्छ भनी मांग गर्दै प्रस्ताव पारित गरिएको छ।

जीटीएको बजेट बनाएर राज्य सरकारलाई बुझाउने कुरामा पनि प्रस्ताव पारित गरिएको छ भने सिलगढीमा चालकहरुको निम्ति विश्राम गृह निर्माण गर्ने, भेल्लोरमा गोर्खा वेलफेयर सेन्टर निर्माण गर्ने अनि कोविडको समयमा चिया श्रमिकहरूको निम्ति उठाइएको रकमलाई सिलगढीको नर्थ बङ्गाल मेडिकल कलेज परिसरमा श्रमिक भवन निर्माणमा प्रयोग गर्ने जस्ता प्रस्तावहरू पारित गरिएको छ।