म्यानचेष्टर: ईंग्ल्याण्डले भारतविरुद्ध चौथो टेस्ट म्याचमा जीतको दिशामा कदम बढ़ाएको छ। भारतले पहिलो ईनिंग्समा बनाएको ३५८ रनको जवाफमा ईंग्ल्याण्डले शुक्रवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ७ विकेटको नोक्सानमा ५४४ रनको मजबूत स्कोर बनायो। यसरी ईंग्ल्याण्डसँग अहिले पहिलो ईनिंग्सको आधारमा १८६ रनको बढ़त अनि हातमा ३ विकेट रहेको छ।
तेस्रो दिनको खेल समाप्त हुँदासम्म कप्तान बेन स्टोक्स ७७ र लियाम डसन २१ रनमा अविजित थिए। आयोजक ईंग्ल्याण्डलाई मजबूत स्थितिमा पुऱ्याउनमा अनुभवी ब्याटर जो रुटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै १५० रन बनाए। उनले २४८ बल खेलेर १४ वटा चौका लगाए। रुटले आज आफ्नो टेस्ट करियरको ३८औं टेस्ट शतक बनाए। रुटले स्टोक्ससँग शतकीय पार्टनरशीप पनि गरे।
भारतीय बलरहरूले आज १-१ विकेटको निम्ति जोड़तोड़ मेहनत गर्नु पऱ्यो। दोस्रो दिनको स्कोर २ विकेटमा २५२ रनदेखि अघि खेल्दै आज ईंग्ल्याण्डलाई रुट र ओली पोपले असाधारण शुरुवात दिलाए। पोप र रुटले मिलेर तेस्रो विकेटको निम्ति १४४ रनको पार्टनरशीप गरी स्कोर ३४१ रनसम्म पुऱ्याए। वाशिंगटन सुन्दरले पोपलाई आउट गरी भारतलाई दिनको पहिलो सफलता दिलाए, जसले १२८ बल खेलेर ७ वटा चौका लगाए। त्यसपछि ह्यारी ब्रूक केवल ३ रन बनाएर सुन्दरको दोस्रो शिकार बने। यसरी ३४९ रनमा तेस्रो विकेटको पतनपछि रुटले स्टोक्सबाट असल साथ पाए। स्टोक्स अर्द्धशतक पूरा गरेपछि रिटायर्ड हर्ट भए अनि दिनको अन्ततिर ब्याटिंग गर्न ओर्लिए। रुट १५० रन बनाएर जडेजाको शिकार बने। ईंग्ल्याण्डले दिनको अन्ततिर जेमी स्मिथ र क्रिस वोक्सको विकेट भटाभट गुमाए पनि चौथो टेस्ट म्याचमा ईंग्ल्याण्ड जीतको गोरेटोमा अग्रसर भइसकेको छ। भारतीय बलरहरूमा जडेजा र सुन्दरले २-२ विकेट लिए।