म्यानचेष्टर: भारत र ईंग्ल्याण्डबीच ओल्ड ट्रेफर्डमा जारी चौथो टेस्ट म्याच रोमाञ्चक बनेको छ। बिहीवार म्याचको दोस्रो दिन भारतको पहिलो ईनिंग्स ३५८ रनमा समाप्त भयो। त्यसपछि ईंग्ल्याण्डले दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा २ विकेट गुमाएर २२५ रन बनायो। यसरी ईंग्ल्याण्ड अहिले पनि पहिलो ईनिंग्सको आधारमा १३३ रन पछि रहेको छ तर आयोजक टीमसँग ८ विकेट हातमा रहेको छ। बिहीवार खेल समाप्त हुँदासम्म ओली पोप २० र जो रुट ११ रन बनाएर खेलिरहेका थिए। भारतको तर्फबाट आज अंशुल कम्बोज र रविन्द्र जडेजाले १-१ विकेट लिए।
ईंग्ल्याण्डको निम्ति आज ज्याक क्रली र बेन डकेटको जोड़ीले असाधारण शुरुवात गऱ्यो। यी दुईजनाले पहिलो विकेटको निम्ति १६६ रनको पार्टनरशीप गरे। क्रलीलाई आउट गरी जडेजाले यस पार्टनरशीपलाई तोड़े, जसले ११३ बल खेलेर १३ वटा चौका र एउटा छक्काको साथ ८४ रन बनाए। त्यसपछि शतकको नजिक पुगेका डकेटलाई आउट गरी कम्बोजले भारतलाई दोस्रो सफलता दिलाए। डकेटले १०० बल खेलेर १३ वटा चौकाको साथ ९४ रन बनाए। त्यसपछि पोप र रुटले मिलेर लड़ाइँ जारी राखे।
यसअघि पहिलो दिनको स्कोर ४ विकेटमा २६४ रनदेखि अघि खेल्दै आज भारतको पहिलो ईनिंग्स ३५८ रनमा टुंंगियो। पहिलो दिन अविजित रहने जडेजा आज शुरुमै आउट भए पनि शार्दुल ठाकुरले ८८ बल खेलेर ४१ रन बनाए। उनले ५ वटा चौका लगाए। टीम संकटमा परेको देखेर चोटग्रस्त रिषभ पन्त आज ब्याटिंग गर्न आए अनि ५४ रन बनाएर आउट भए। प्रेरणादायी प्रदर्शन गर्ने पन्तले ७५ बलको सामना गरी ३ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक वाशिंगटन सुन्दरले २७ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा बेन स्टोक्सले सर्वाधिक ५ विकेट लिए।