गेजिङ: मानेबोङ-देन्ताम समष्टिका विधायक सुदेसकुमार सुब्बाले आज देन्तामस्थित एसकेएम पार्टी कार्यालयमा आयोजित जनसम्पर्क कार्यक्रममा सहभागिता जनाए। कार्यक्रमको उद्देश्य आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, जिज्ञासा तथा मागहरूलाई सम्बोधन गर्ने हो। कार्यक्रममा विभिन्न गाउँहरूबाट आएका जनताले आफ्नो व्यक्तिगत र सामुहिक समस्या, विकासका माग तथा सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासाहरू राखेका थिए। जनतासँगको आत्मीय संवादका क्रममा विधायक सुब्बाले सबैको कुरा सुनेपछि सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान गर्ने आश्वासन दिए। विधायक सुब्बाले सरकारको प्राथमिकता सामाजिक, भौतिक र व्यक्तिगत विकासमा केन्द्रित छ भन्दै जनताका समस्यालाई प्राथमिकतामा राखेर योजनाहरू अघि बढाउने बताए। विधायक सुब्बाले क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक विस्तार, खानेपानी सुविधा तथा युवाहरूमाझ रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकार दृढ रहेको जानकारी दिए। उनले जनताको भरोसा कायम राख्न निरन्तर यस्तो प्रत्यक्ष संवाद आवश्यक्तामाथि जोड दिए। कार्यक्रममा क्षेत्र अध्यक्ष डीएन शेर्पा, नारी संयोजिका माया फुरुम्बो, स्थानीय पार्टी कार्यकर्ताहरू, जिल्ला अनि ग्राम पञ्चायतका प्रतिनिधिहरुको उपस्थिति थियो। यस प्रकारको जनसंवादले लोकतन्त्रलाई अझ सुदृढ बनाउने र सरकार–जनताबीच सम्बन्धलाई नजिक बनाउने बताएका छन्।