पीभी सिन्धूलाई पराजित गरी क्वार्टर फाइनलमा पुग्न सफल उन्नति हुड्डा

IMG-20250724-WA0117

चांग्झू: उन्नति हुड्डाले करियरको सबैभन्दा ठूलो उलटफेर गर्दै २ पल्टकी ओलम्पिक पदक विजेता भारतीय ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धूलाई ३ गेमसम्म चलेको रोमाञ्चक म्याचमा पराजित गरी बिहीवार चाइना ओपन सुपर १००० टुर्नामेण्टको क्वार्टर फाइनलमा प्रवेश गरिन्। दुई भारतीय खेलाड़ीबीच खेलिएको महिला एकलको म्याच रोमाञ्चक रह्यो। आफ्नो करियरमा केवल दोस्रोपल्ट सिन्धूको सामना गरिरहेकी १७ वर्षीया उन्नतिले कठिन क्षणहरूमा धैर्य कायम राख्दै ७३ मिनटसम्म चलेको म्याचमा २१-१६, १९-२१, २१-१३-ले जीत हासिल गरिन्। यस जीतको साथै उनी पहिलोपल्ट कुनै सुपर १००० टुर्नामेण्टको क्वार्टर फाइनलमा पुगिन्। रोहतककी यस किशोरीले २०२२-मा ओडिशा मास्टर्स र २०२३-मा अबू धाबी मास्टर्स सुपर १०० टुर्नामेण्ट जितेकी थिइन्। क्वार्टर फाइनलमा उन्नतिको भिड़न्त जापानकी तेस्रो वरीयता प्राप्त तथा २ पल्टकी वर्ल्ड च्याम्पियन अकाने यामागुचीसँग हुनेछ। यसबाहेक सिन्धू ७ सालमा पहिलोपल्ट कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नै देशकी प्रतिद्वन्द्वीविरुद्ध पराजित भइन्। उनले यसअघि २०१८ कमनवेल्थ गेम्सको फाइनलमा साइना नेहवालविरुद्ध हारको सामना गर्नु परेको थियो। उनी २०१९ राष्ट्रिय च्याम्पियनशीपको फाइनलमा पनि साइनाविरुद्ध पराजित भएकी थिइन्।
यसअघि सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले इण्डोनेशियाका लियो रोली कार्नाण्डो र बगास मौलानाको जोड़ीलाई सीधा गेममा पराजित गरी पुरुष युगलको क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। रोमाञ्चक म्याचमा भारतीय जोड़ीले इण्डोनेशियाई जोड़ीलाई २१-१९, २१-१९-ले पराजित गऱ्यो। विश्वका पूर्व नम्बर एक जोड़ीले धैर्यको असल नमूना पेश गर्दै आठौं वरीयता प्राप्त जोड़ीविरुद्ध सीधा गेममा जीत हासिल गऱ्यो। यसबीच पुरुष एकलमा भारतका एचएस प्रणय चाहिँ ६५ मिनटसम्म चलेको दोस्रो राउण्डको म्याचमा चाइनीज ताइपेका छैटौं वरीयता प्राप्त चोऊ तिएन चेनविरुद्ध २१-१८, १५-२१, ८-२१-ले पराजित भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement