गान्तोक: आईसीएआर सिक्किम केन्द्रले विभिन्न विभागका अधिकारीहरूसँग मिलेर राभाङ्ला महकुमाअन्तर्गत रहेका डल्ले खोर्सानी उत्पादकहरूसित भेट गऱ्यो। भ्रमणको उद्देश्य डल्ले खोर्सानी फार्महरूमा लाग्ने रोग र कीराहरूको निरीक्षण गर्नु र उत्पादन र गुणस्तर सुधार गर्न प्राविधिक ज्ञान र जानकारी प्रदान गर्नु थियो। निरीक्षणको क्रममा, आईसीएआर सिक्किम केन्द्रकी वरिष्ठ वैज्ञानिक डा. छिरिङ ल्हमु भोटियाले डल्ले खोर्सानीमाथि भइरहेको शोधबारे बताइन्। उनले बिरुवाहरूको लक्षण र अवस्थाको आधारमा डल्ले खोर्सानी बिरुवाहरू रोगबाट प्रभावित भएको उल्लेख गरिन्। उनले उपज र गुणस्तर सुधार गर्नका साथै बिरुवाको स्वास्थ्य कायम राख्न सूक्ष्म पोषक तत्त्वहरूको प्रयोग गर्ने महत्त्वमाथि जोड दिइन्। डा. भोटियाले किसानहरूलाई बीउ उपचार, स्वस्थ बीउ छनोट, फसल परिक्रमा, जैविक कीटनाशकले माटो उपचार, उचित अन्तराल र जाल वा गिलो घाँसको प्रयोग जस्ता उपायहरू अपनाउन पनि आग्रह गरिन्। टोलीले रोगको प्रसारलाई नियन्त्रित गर्नका लागि तत्काल उपाय सुझायो र निर्यात उद्देश्यका लागि उत्पादन र गुणवत्ता बढ़ाउन हेतु प्राविधिक सहयोग र इनपुटको माध्यमद्वारा डल्ले खोर्सानीका उत्पादकहरूलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको थियो। यसबाट सिक्किमका किसानहरूको अर्थव्यवस्थालाई बढ़ावा मिल्ने भनाइ छ। टीममा सिक्किम सरकारको बागवानी विभागका मिशन निर्देशक तथा प्रधान निर्देशक भीम दाहाल, अतिरिक्त निर्देशक, डिकेन्द्र भुजेल लगायत अन्य अधिकारीहरु सामेल थिए।