गान्तोक: असम र सिक्किमले आफ्ना सबै सीमावर्ती गाउँहरूमा पूर्ण मोबाइल नेटवर्क कभरेज हासिल गरेका छन्, जबकि धेरै अन्य उत्तरपूर्वी राज्यका सबै सीमावर्ती गाउँमा मोबाइल नेटवर्क जड़ान भएको छैन। हालै संसदमा सिक्किमका लोकसभा सांसद इन्द्र हाङ सुब्बाको एउटा प्रश्नको लिखित जवाफमा सञ्चार मन्त्रालयले दिएको जवाफमा यो तथ्याङ्क प्रकाशमा आएको हो।
पूर्वोत्तरका आठवटा राज्यमा जम्मा ५२०० वटा सीमावर्ती गाउँ छन् जसमध्ये ४६९६ वटा गाउँमा मोबाइल नेटवर्क पुगेको छ भने अझै ५०४ नटा गाउँ मोबाइल नेटवर्क कभरेजबाट बञ्चित छ। उल्लेखनीय कुरा के छ भने १२३७ वटा सीमावर्ती गाउँहरू भएको असम र ६८ वटा गाउँ भएको सिक्किम राज्यले भने सत प्रतिशत मोबाइल कनेक्टिभिटी हासिल गरेको छ। यसको विपरीत, मणिपुर र नागाल्याण्ड सबैभन्दा कम प्रदर्शन गर्ने राज्यहरूमा पर्दछ। मणिपुरले आफ्नो २६३ वटा गाउँहरू मध्ये १९४ अनि नागाल्याण्डले १३५ गाउँ मध्ये 96 वटा गाउँहरूमा मात्र मोबाइल कनेक्टिभिटी पाएको छ।
यसरी नै अरुणाचल प्रदेश, जहाँ यस क्षेत्रमा सबैभन्दा धेरै सीमावर्ती गाउँहरू १५२० छन्, अझै पनि ३३७ वटा गाउँ मोबाइल कभरेजबाट बञ्चित छन्। मेघालयको अवस्था तुलनात्मक रूपमा राम्रो छ। यसको १२७२ वटा गाउँहरू मध्ये ११३८ गाउँहरू मोबाइल नेटवर्कले जोडिएका छन्। अर्कोतिर मिजोरमका ३७८ वटा गाउँ मध्ये ३६५ वटा गाउँले मोबाइल कभरेज हासिल गरेको छ भने त्रिपुराले आफ्नो ३४५ सीमावर्ती बस्तीहरू मध्ये ३३३ मा मोबाइल नेटवर्क विस्तार गरेको छ।
मन्त्रालयकाअनुसार बाँकी गाउँहरूको लागि मोबाइल कभरेज डिजिटल भारत निधि (जीबीएन) द्वारा समर्थित योजनाहरू अन्तर्गत कार्यान्वयन भइरहेको छ, जसले ग्रामीण र दुर्गम क्षेत्रहरूमा दूरसञ्चार पूर्वाधार विकासमा काम गर्दछ। उल्लेखनीय छ, आर्थिक वर्ष २०२०-२१ र २०२४-२५ बीच उत्तरपूर्वमा मोबाइल नेटवर्कहरू बलियो बनाउन विभिन्न डीबीएल योजनाहरू अन्तर्गत कुल १७७५.५३ करोड़ रुपियाँ विनियोजन गरिएको छ।










