सेरि एः युभेण्टस, एसी मिलान र इण्टर मिलान पराजित

IMG-20220919-WA0132.jpg

१९ सेप्टेम्बरः इटालियन सेरि ए फूटबलमा आइतवार राति केही अप्रत्याशित परिणाम देख्न पाइयो। खराब लयमा रहने युभेण्टस र इण्टर मिलानले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यसरी नै वर्तमान च्याम्पियन एसी मिलान पनि पराजित भयो। युभेण्टसलाई सेरि ए-को नयाँ टीम मोञ्जाले १-०-ले पराजित गऱ्यो। सेरि ए-मा यो मोञ्जाको पहिलो जीत हो। अनुभवी एञ्जेल डी मारियाले ४०औं मिनटमा रातो कार्ड देख्दा १० जना खेलाड़ीमा सीमित हुने युभेण्टसको यस निराशाजनक हारले प्रशंसकहरूमा आक्रोश बढ़ेको छ। आफ्नो होम ग्राउण्डमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने मोञ्जाबाट क्रिस्टियन गिटकेरले ७४औं मिनटमा गोल गरे।

यस हारको साथै युभेण्टसको सेरि ए-मा जारी अजेय अभियानमा पनि विराम लाग्यो। युभेण्टस अहिले ७ वटा म्याचमा १० पोइण्टको साथ सेरि ए टेबलको आठौं स्थानमा रहेको छ। यसरी नै मोञ्जा लीगमा पहिलो जीतको साथ ४ पोइण्ट लिएर १८औं स्थानमा पुग्यो।

यसरी नै इण्टर मिलान पनि उडिनिस विरुद्ध ३-१-ले हारको सम्मुखीन भयो। निकोलो बारेल्लाले पाँचौं मिनटमै बढ़त दिलाए पनि इण्टरले पछिबाट तीन गोल खायो। डिफेण्डर मिलान स्क्रिनिएरले २२औं मिनटमा आत्मघाती गोल गर्दा उडिनिसले १-१-को बराबरी हासिल गऱ्यो। त्यसपछि जाका बिजोलले ८४औं र टोल्गे अर्सलानले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरी उडिनिसलाई जीत दिलाए। यस जीतपछि उडिनिस १६ पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। यसरी सातौं स्थानमा रहने इण्टरसँग अहिले १२ पोइण्ट रहेको छ। यसबीच नापोलीले गत सीजनको विजेता एसी मिलानलाई २-१-ले पराजित गरी सेरि ए टेबलमा शीर्ष स्थान हासिल गऱ्यो। सान सिरोमा खेलिएको यस म्याचमा नापोलीबाट माटेओ मोलिटानोले ५५औं (पेनल्टी) र जियोभानी सिमेओनले ७८औं मिनटमा गोल गरे। यसरी नै एसी मिलानबाट ओलिवियर गिरोडले ६९औं मिनटमा गोल गरे। यस जीतको साथै अटलाण्टाको बराबर १७ पोइण्ट भए पनि गोल अन्तरको आधारमा नापोली शीर्ष स्थानमा पुग्यो। यसरी नै एसी मिलान १४ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। सेरि ए-को अन्य एउटा म्याचमा अटलाण्टाले रोमालाई १-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट जियोर्जियो स्कालविनीले ३५औं मिनटमा गोल गरे। यस जीतपछि अटलाण्टा १७ पोइण्टको साथ दोस्रो स्थानमा रहन पुग्यो। यसरी नै रोमा १३ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ। लाजियोले पनि क्रेमोनिस विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। म्याचमा लाजियोबाट सिरो इम्मोबिलले २ गोल गरे। लाजियो १४ पोइण्टको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement