तेस्रो वनडेमा १३ रनले जीतको साथ सीरीज पनि आफ्नो नाम गर्न सफल भारतीय महिला टीम

IMG-20250723-WA0068

चेष्टर-ली-स्ट्रीट: भारतीय महिला क्रिकेट टीमले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल म्याचमा आयोजक ईंग्ल्याण्डलाई १३ रनले पराजित गऱ्यो। यस जीतको साथ भारतले ३ वटा वनडे म्याचको सीरीज पनि २-१-ले जित्यो। भारतले यसअघि ५ वटा टी२० म्याचको सीरीजमा पनि ईंग्ल्याण्डलाई ३-२-ले पराजित गरेको थियो। रिभरसाइड ग्राउण्डमा खेलिएको तेस्रो वनडे इण्टरनेशनल म्याचमा भारतलाई जीत दिलाउनमा कप्तान हरमनप्रीत कौर (१०२ रन) र पेस बलर क्रान्ति गौड़ (५२ रनमा ६ विकेट)-ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। सीरीजको निर्णायक म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३१८ रनको विशाल स्कोर बनायो। भारतीय ब्याटिंग क्रमको शीर्ष ६-मा सबैले उल्लेखनीय योगदान दिइन्। कप्तान हरमनप्रीतले ८४ बल खेलेर १४ वटा चौकाको सहायताले १०२ रन बनाइन्। महिला वनडेमा यो उनको सातौं शतक हो। उनले हरलीन देयोलसँग तेस्रो विकेटको निम्ति ८१ रन र जेमिमा रोड्रिग्ससँग चौथो विकेटको निम्ति ११० रनको पार्टनरशीप गरेर स्कोर २७२ रनसम्म पुऱ्याइन्। जेमिमाले ४५ बल खेलेर ७ वटा चौकाको साथ ५० रन बनाइन्। हरलीन र स्मृति मन्धनाले ४५-४५ रनको योगदान दिइन्। मन्धनाले ५४ बल खेलेर ५ वटा अनि हरलीनले ६५ बल खेलेर ४ वटा चौका लगाइन्। ओपनर प्रतिका रावलले पनि २६ रन बनाइन्। विकेटकीपर रिचा घोषले ३ वटा चौका र २ वटा छक्काको साथ १८ बलमा अविजित ३८ रन बनाएर टीमको स्कोर ३१८ रनसम्म पुऱ्याइन्।
जवाफमा ईंग्ल्याण्डको शुरुवात खराब रह्यो अनि ८ रनभित्रै दुवै ओपनरको विकेट पतन भयो। त्यसपछि कप्तान नेट शाइवर-ब्रण्ट र एम्मा लेम्बले मिलेर टीमलाई सम्हाल्ने प्रयास गरिन्। यी दुईजनाले मिलेर तेस्रो विकेटको निम्ति १६२ रनको पार्टनरशीप गरेर टीमलाई म्याचमा कायम राखिन् तर ३१औं ओभरमा श्री चरणीले लेम्बलाई आउट गर्नको साथै भारतले म्याचमा फर्किने मौका पायो। केवल २ रनले गर्दा शतकदेखि वञ्चित हुने कप्तान शाइवर-ब्रण्टले १०५ बल खेलेर ११ वटा चौकाको साथ ९८ रन बनाइन्। यसरी लेम्बले ८१ बलमा ५ वटा चौकाको साथ ६८ रन बनाइन्। त्यसपछि एलिस डेविडसन-रिचर्ड्सले ४४ र सोफिया डंकलीले ३४ रन बनाएर लड़ाइँ गरे पनि कुनै फाइदा भएन। क्रान्ति गौड़ले असाधारण बलिंग गरेर भारतलाई जीत दिलाइन्। गौड़ले ९.५ ओभरमा ५२ रन खर्च गरी ६ विकेट हासिल गरिन्। यसरी श्री चरणीले २ विकेट प्राप्त गरिन्। हरमनप्रीत कौरले प्लेयर अव् द म्याचको पुरस्कार जितिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement