गान्तोक: ग्रामीण विकास विभागअन्तर्गत तिन्कीताम रायोङमा निर्मित ग्राम पञ्चायत प्रशासन केन्द्रको उदघाटन आज गरियो। बर्फुङ क्षेत्रका विधायक रिक्सल दोर्जी भोटियाले उक्त केन्द्रको औपचारिक उद्घाटन गरे। उनले सम्बोधनमा भवनमा छानाको ट्रस थप्ने वचन दिँदै कर्मचारीहरूको लागि आवासको व्यवस्था गर्न र माथिल्लो तलामा बैठक स्थल स्थापना गर्न सकिने बताए। उनले सिक्किम गरीब आवास योजनामाथि ध्यानाकर्षण गराउँदै क्षेत्रमा सबैभन्दा बढी आवश्यकतामा परेकाहरूलाई आवास प्रदान गर्ने वचन दिए। यसबाहेक उनले पञ्चायत सदस्यहरूलाई वृद्धावस्था पेन्सन योजना, आमा योजना र शैक्षिक छात्रवृत्ति जस्ता कल्याणकारी योजनाहरूलाई सक्रिय रूपमा सहयोग गर्ने आग्रह गरे। जनचेतना र सहभागितामा जोड दिँदै, उनले सरकारी लाभहरू सुनिश्चित गर्न विभागीय पहलको महत्वमाथि प्रकास पारे। स्थानीय बासिन्दाहरूमा आत्मनिर्भरतालाई प्रोत्साहित गर्दै उनले समुदायलाई सरकारद्वारा सहयोग उद्यमशीलता योजनाहरूको फाइदा लिन सल्लाह दिए। उनले नवनिर्मित भवनका कर्मचारीहरूलाई शुभकामना दिए। कार्यक्रमलाई सम्बोधन गर्दै विभागीय सचिव दुष्यन्त परियारले पञ्चायती राजले राष्ट्रिय ग्राम स्वराज अभियानअन्तर्गत कोषबाट भवन निर्माण गरिएको जानकारी दिए।