सोरेङ: सोरेङ जिल्ला प्रशासनको पहलमा सूचना तथा जनसम्पर्क विभागको जिल्ला सूचना केन्द्रले आज मलबाँसेस्थित डनबस्को स्कूलमा “एक दिन स्कूलमा” कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको उद्देश्य विभिन्न सरकारी विभागहरूको कार्यप्रणाली, योजनाहरू र विकासात्मक पहलहरूको बारेमा विद्यार्थीहरूलाई साक्षर गराउने थियो। विद्यार्थीहरूलाई शैक्षिक र करियर छनौटहरूको बारेमा सटीक निर्णय लिन आवश्यक जानकारी र समझ प्रदान गर्ने कुरामा केन्द्रित गरेको थियो। सत्रको शुरुमा जिल्ला सूचना अधिकारी डा. एरोन ई लेप्चाले विद्यार्थीहरूलाई जिल्ला सूचना केन्द्र र सूचना तथा जनसम्पर्क विभागको कार्यप्रणालीको संक्षिप्त जानकारी गराए। उनले विभाग भित्रका विभिन्न खण्डहरू डिजिटल अभिलेख, फिल्म खण्ड, ई-न्यूज, सिक्किम हेरल्ड र जनसम्पर्कको लागि सामाजिक सञ्जाल प्लेटफर्महरूको सक्रिय प्रयोगबारे पनि जानकारी गराए। उनले विद्यार्थीहरूलाई राज्यको प्रत्येक जिल्लामा जिल्ला सूचना केन्द्र कार्यालयले सामाजिक सञ्जाल, पत्रपत्रिका र सञ्चारका अन्य माध्यमहरूमार्फत जनतामा उचित जानकारी पुऱ्याउने जानकारी गराए। उनले पत्रकारिता र मिडियाको क्षेत्रमा करियर सम्भावनाहरूको बारेमा विद्यार्थीहरूलाई अवगत गराए। वरिष्ठ सूचना सहायक फूर्बा डी लेप्चाले पत्रकारितामाबारे जानकारी दिँदै आवश्यक सीपहरू र पेशामा आउने नैतिक जिम्मेवारीहरूबारे बताए। उनले पत्रकारिताको विभिन्न उद्देश्यहरूमाथि जानकारी गराउँदै विद्यार्थीहरूलाई यसको विविध कार्यहरू बुझ्ने सल्लाह दिए। उनले राम्रो पत्रकारिताका मुख्य तत्वहरू शुद्धता, वस्तुनिष्ठता, निष्पक्षता, स्वतन्त्रता, जवाफदेहिता र सत्यता समावेश रहेको बताए। अर्को प्रस्तुतिमा वरिष्ठ सूचना सहायक (सोरेङ) सेमी सुब्बाले जिल्ला प्रशासन, सोरेङले गरेको पहलको सराहना गर्दै रिपोर्टिङ प्रक्रियाको महत्त्व र प्रभावकारी सञ्चारमा यसको भूमिकामाथि जोड दिइन्। उनले रिपोर्टिङ प्रक्रियाको क्रममा सामान्यतया सामना गर्नुपर्ने धेरै चुनौतीहरूबारे पनि उल्लेख गरिन्। फोटोग्राफी सम्बन्धी सत्रमा बोल्दै फोटोग्राफर सिद्धार्थ बी गुरुङले विद्यार्थीहरूलाई रचना, प्रकाश र विषय फ्रेमिङ जस्ता प्रमुख प्राविधिक पक्षहरूमाथि प्रकास पारे। उनले फोटोग्राफीमा सिद्धान्तको रूपमा मिडियामा दृश्य कथा कथनको समग्र महत्त्वबारे प्रकाश पारे। अविनाई सुब्बाले भिडियोग्राफी र सम्पादन सम्बन्धी सत्र प्रस्तुत गरे भने उनले भिडियोग्राफीको आधारभूत विषयमाथि जानकारी गराए। कार्यक्रममा एक अन्तरक्रियात्मक सत्रको साथ समाप्त भएको थियो।