खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मातृ अनि शिशु कल्याण विभागको कार्यकारी सभासद एवं पंखाबारी लङ्भ्यू अम्बटे समष्टिको सभासद कल्पना प्रधानसित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लङ्भ्यू गुर्दुम बस्तीका सदस्यहरुले भेटघाट गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदस्यहरूले सभासद कल्पना प्रधानसँग उनको निजी वासस्थानमा गएर भेटघाट गरेका छन्। गुर्दुम बस्तीको पक्षबाट सभासद कल्पना प्रधानलाई गाउँमा रहेका विभिन्न समस्याहरू राखे साथै समाज घर निमार्णको निम्ति एउटा अर्जी पत्र पनि दिएका छन्। त्यस भेटघाट अवधिमा सभासद कल्पना प्रधानले पार्टी कार्यकर्ताहरूलाई खदा लगाएर स्वागत जनाइन् साथै संगठनको हितको निम्ति नयाँ पुरानो भन्ने कुरालाई पर सारेर कसैलाई पनि नछुट्याई कार्य गर्न पर्ने सुझाव राखिन्। उनले जीटीए क्षेत्रभरि नै विभिन्न समस्याहरू रहेको तथा जीटीए साथै पञ्चायतमार्फत उक्त समस्याहरूको समाधान हुने जनाइन्। उनले जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वको कारण लङ्भ्यू अस्पताल लाइन, गुर्दुम बस्ती, पाँच नम्बर साथै प्लेन लाइनको निम्ति सार्वजनिक भवन साथै प्राथमिक स्वास्थ्य केन्द्रको निर्माण कार्य समाप्त भइसकेको र यसको उद्धाटन कार्य पनि चाँडै जीटिए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट सम्पन्न हुने जनाइन्। सभासद प्रधानले सार्वजनिक भवनको देखरेख गर्न एउटा संरक्षण कमिटी तयार गर्ने निर्देश पञ्चायत प्रधान साथै पञ्चायत सदस्यलाई दिइन्। पञ्चायत प्रधान मणिराज डुम्जनले जीटीए साथै पञ्चायतमार्फत लङ्भ्यू क्षेत्रमा धेरै विकासमूलक कार्यहरू भइरहेको जनाए। उनले लङ्भ्यू अस्पताल लाइनमा निर्माण भएको सार्वजनिक भवनको निर्माण कार्य धेरै नै गुणस्तरीय भएको तथा पञ्चायत मार्फत उक्त सार्वजनिक भवनलाई अझ सुन्दरीकरण गर्न हेतु सार्वजनिक भवन वरिपरी बाउण्डेरी निर्माण गरिने जनाए। भेटघाट अवधिमा समष्टि सचिव ललित प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, पञ्चायत सदस्य सुब्राता लकान्द्री साथै गुर्दुम बस्ती शाखा समिति अध्यक्ष अमीर राईको विशेष उपस्थिति रहेको थियो।