१९ सेप्टेम्बरः मुकालमुआ आञ्चलिक स्पोर्ट्स एसोसिएशन (नालबारी)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित चक्रधर डेका स्मृति नगद राशि आमन्त्रणी फूटबल टुर्नामेण्टमा हिस्सा लिन सिलगढ़ीको रोयल फूटबल क्लबको टीमले आज असम प्रस्थान गऱ्यो। असमको नालबारी, मुकालमुआमा गत ८ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टमा रोयल एफसी-ले २० सेप्टेम्बर (मंगलवार)-मा चिरांग डीयूएफसी-को चुनौती स्वीकार्नेछ। देशको हरेक कुनाबाट टीमहरूले हिस्सा लिने यस टुर्नामेण्टमा रोयल एफसी २०१९-को संस्करणमा उपविजेता रहेको थियो। यस साल पनि खिताब जित्ने लक्ष्य लिएर प्रशिक्षक नकुल रोय अनि म्यानेजर नरेश सुब्बाको मार्गदर्शनमा रोयल एफसी-को टीमले सोमवार बिहान एनजेपी-बाट असम प्रस्थान गऱ्यो। टीमलाई रोयल एफसीका अध्यक्ष महेन्द्र सुब्बा, कार्यकारी अध्यक्ष छिरिंग तोपग्याल (बाबु लामा) र सचिव बिर्जु सुब्बाले शुभकामना दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल २२ र २३ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २५ सेप्टेम्बरमा हुनेछ।