नयाँ दिल्ली: भारतीय खेलाड़ी एचएस प्रणयले ५ म्याच पोइण्ट बचाउनको साथै एक गेमले पछाड़िएपछि असाधारण पुनरागमन गर्दै जापानका कोकी वतनबेलाई पराजित गरी मंगलवार चाइना ओपन सुपर १००० ब्याडमिण्टन टुर्नामेण्टको दोस्रो राउण्डमा स्थान बनाए। यसबीच लक्ष्य सेन चाहिँ फेरि एकपल्ट पहिलो राउण्डमै बाहिर भए। विश्वका ३५औं नम्बरका खेलाड़ी प्रणयले १८औं नम्बरका खेलाड़ी वतनबेविरुद्ध ८-२१, २१-१६, २३-२१-ले जीत हासिल गरे। लक्ष्यको खराब प्रदर्शनको क्रम चाहिँ जारी रह्यो अनि असल शुरुवातपछि पनि चीनका ५औं वरीयता प्राप्त ली शी फेंगविरुद्ध २१-१४, २२-२४, ११-२१-ले पराजित भए।
प्रणयले म्याचपछि भने, करियरको यस मोड़मा प्रत्येक जीतको महत्त्व हुन्छ। म टूरमा फर्किएर खुशी छु। खेलको स्तरमा वास्तवमा अलग उँचाईमा पुगेको छ अनि तपाईंले शुरुदेखि नै कड़ा चुनौतीको सामना गर्नु पर्छ। अहिले हरेक राउण्ड जित्न कठिन छ। पुरुष एकलमा औसत आयु अचानक २२-२३ साल भएको छ। धेरै नयाँ खेलाड़ीहरू आएका छन् अनि उनीहरूका खेलबारे वास्तवमा तपाईंलाई जानकारी हुँदैन। यसैकारण अहिले अनुभवको अधिक महत्त्व छैन।
महिला एकलमा अनुपमा उपाध्याय पनि पहिलो राउण्डमै चाइनीज ताइपेकी लिन ह्सियाङ ती-विरुद्ध २३-२१, ११-२१, १०-२१-ले पराजित भए। युगल स्पर्धाहरूमा पनि भारतले हारको सामना गर्नु पऱ्यो।