१९ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीग फूटबलमा आइतवार राति आर्सनलले ब्रेण्टफोर्डलाई ३-०-ले पराजित गऱ्यो। यस जीतमा आर्सनलको तर्फबाट १५ वर्षका स्कूल छात्र एथन नवानेरी प्रीमियर लीगमा हिस्सा लिने सबैभन्दा युवा खेलाड़ी बने। ब्रेण्टफोर्ड कम्युनिटी स्टेडियममा नवानेरीले अन्तिम क्षणमा बेञ्चबाट मैदानमा प्रवेश गरी रेकर्ड बनाए। मार्च २००७-मा जन्मिएका नवानेरीलाई फेबियो भिएराको स्थानमा मौका दिइयो। उनले केवल १५ साल, १८१ दिनको उमेरमा प्रीमियर लीगमा पदार्पण गरे। यसअघि यो रेकर्ड लिभरपूलका हार्वे इलियटको नाममा रहेको थियो, जसले २०१९-मा १६ साल तीस दिनको उमेरमा प्रीमियर लीगमा पदार्पण गरेका थिए। आर्सनलबाट पदार्पण गर्ने सबैभन्दा युवा खेलाड़ीको कुरा गर्दा नवानेरी अघि सीज फेब्रेगेसले १६ साल १७७ दिनको उमेरमा क्लबको निम्ति २००३-मा रोथरह्याम विरुद्ध लीग कपको म्याच खेलेका थिए।
वण्डरकिड-को नामले चिनिने युवा मीडफिल्डर नवानेरीले १४ सालको उमेरमा अण्डर-१६ प्रतियोगितामा ईंग्ल्याण्डको प्रतिनिधित्व गरेका थिए। उनले मईमा अण्डर-१८ आयु वर्गमा हिस्सा लिएका थिए अनि आफ्नो प्रदर्शनद्वारा प्रशिक्षक मिकेल अर्टेटालाई प्रभावित गरेका थिए। उनलाई चाँड़ै अण्डर-१८ आयु वर्गमा सामेल गरियो अनि यसै हप्ता आर्सनलले उनलाई अभ्यास सत्रमा उतारेको थियो। नवानेरीले अण्डर-१८ र अण्डर-२१ आयु वर्गमा चार गोल र चारवटा एसिस्ट गरेका छन्।

यसबीच ब्रेण्टफोर्ड विरुद्ध जीतको साथ आर्सनल १८ पोइण्टको साथ फेरि प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो। क्लबको यो सातवटा म्याचमा छैटौं जीत हो। म्याचमा आर्सनलबाट विलियम सलीबाले १७औं, गेब्रियल जीससले २८औं र फेबियो भिएराले ४९औं मिनटमा गोल गरे। आर्सनलको टीम म्याचमा नियमित कप्तान मार्टिन ओडेगार्ड र लेफ्ट ब्याक जिनचेंको बिना मैदानमा ओर्लिएको थियो। आइतवार राति खेलिएको प्रीमियर लीगको अन्य एउटा म्याचमा एभर्टनले वेष्ट ह्याम युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। एभर्टन अहिले ७ पोइण्टको साथ १३औं र वेष्ट ह्याम ४ पोइण्टको साथ १८औं स्थानमा रहेको छ।