खरसाङ: खरसाङको वार्ड नम्बर ९, को मन्टिभियट पथ, देवकोटा टोलमा हाल टाइल्स बिछ्याएर बाटो निर्माण गरिएकोमा स्थानीय समितिका सदस्यहरूले जीटीए प्रमुख अनित थापालाई विशेष आभार प्रकट गरेका छन्। यस विषयमा वार्ड नम्बर ९ मा रहेको देवकोटा टोल समाज समितिले एक पत्रकार सम्मेलन बोलाएर बाटो निर्माणले देवकोटा टोललाई सुन्दर र व्यवस्थित बनाएको बताएका छन्। यसको साथै यो बाटोबाट विद्यालय जाने विद्यार्थीहरु, वृद्ध वृद्धाहरु र गाउँवासीहरूलाई दैनिक आवत जावतमा सुविधा भएको छ। यस अवसरमा पत्रकारहरुसित कुराकानी गर्दै वार्ड नम्बर ९ को मन्टिभियट पथस्थित देवकोटा टोल समाज समितिको सभापति र सचिव शशिकला प्रधानले यस वार्डमा ३५ वर्षपछि जीर्णावस्थामा रहेको बाटो जीटीए प्रमुख अनित थापाले सुन्दर तरिकाले बनाई दिएको बताउँदै यस कार्यको लागि जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेका छन्। यसको साथै अझ दुईवटा बाटोहरु र समाज घर पनि बनाई दिने आशा व्यक्त गरेका छन्।










