नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङको अध्यक्षतामा आज बसेको जिल्ला कार्यदल खोपको पहिलो त्रैमासिक बैठकले विभिन्न विषयमाथि छलफल गरेको छ। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ताम्लिङले नाम्ची जिल्लामा कम तौल भएका शिशुहरूको जन्मले चिन्ता बढ़ाउने बताइन्। नाम्ची जिल्लाअन्तर्गत राभाङलमा यस्ता केस देखा परेको र यस विषयमाथि सीएमओ नाम्चीलाई अनुसन्धान गर्नको साथै यसमा सुधारात्मक रणनीतिहरू कार्यान्वयन गर्न सीडीपीओ राभाङलासँग समन्वय गर्ने निर्देशन दिइन्। उनले डाक्टरको पर्ची बिना पनि औषधि बिक्री गरेकोमा चिन्ता व्यक्त गरिन्। जिल्लापालले नाम्ची जिल्लाका सबै फार्मेसीहरूसँग बैठक गर्ने सीएमएओलाई निर्देश दिएकी छन्। चिकित्सकहरूले लेखेको औषधि मात्र बिक्री गर्ने र बिना प्रेस्क्रिप्शनमा औषधि बिक्री गर्न नहुने र चिकित्सा प्रोटोकलहरूको नियम पालना गर्ने निर्देशन दिइन्। यसै क्रममा सीएनओ विजयलक्ष्मी राईले पीसी-पीएनडीटी ऐनअन्तर्गत अल्ट्रासाउन्ड क्लिनिकको स्थितिबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराइन्। उनले सबै क्लिनिकहरूले फारम एफ अनिवार्यरूपमा अनलाइन बुझाउनुपर्ने कुरामा जोड दिँदै प्रत्येक महिनाको ५ तारिखसम्म जिल्ला पीसी -पीएनडीटी रिपोर्ट बुझाउनु पर्ने निर्देश दिएकी छन्।