गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशनले नेपाली भाषा मान्यता दिवसको अवसरमा यस वर्ष प्रदान गरिने चार प्रतिष्ठित साहित्यिक पुरस्कारको घोषणा गरेको छ। आज सम्पन्न समारोहमा लालमान संचरानी स्मृति पुरस्कार, बीबी मुरिङ्ला स्मृति पुरस्कार, उपमान बस्नेत स्मृति पुरस्कार, तथा लक्ष्मण–सावित्री गुरुङ स्मृति पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरियो। प्रकाशनकी अध्यक्ष रिकी ल्हमू लेप्चाको अध्यक्षतामा गेजिङमा बसेको पुरस्कार चयन समितिको बैठकमा पद्मश्री केदार गुरुङ, प्रकाशनका उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार दलमान मुखिया पीर, साहित्यकार गोबरधन बास्तोला, लक्ष्मीप्रसाद गुरुङ, फूर्वा खाण्डु शेर्पा लगायत समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। गत मई महिनासम्ममा प्राप्त भएका कृतिहरूमध्ये चयन समितिले योग्य पुस्तकहरूको मूल्यांकन गरी उत्कृष्ट कृतिहरू छनोट गरेको हो। यसअन्तर्गत लालमान सञ्चरानी स्मृति पुरस्कार नाटक विधामा “सिक्किमेली नाट्य यात्राको सय वर्ष अनि आफ्नै चार नाटक” कृतिका लागि चुनीलाल घिमिरेलाई प्रदान गरिने घोषमा गरियो। उक्त पुरस्कारको प्रायोजक बीबी मुरिङ्ला परिवार रहेको छ। यसैगरी अर्को पुरस्कार बीबी मुरिङ्ला स्मृति पुरस्कार निबन्ध विधामा “सिङ्माङको घिउ” कृतिका लागि युवा साहित्यकार राज काफ्ले, लक्ष्मण–सावित्री गुरुङ स्मृति पुरस्कार मिजोरम निवासी लक्ष्मी मिनु र अर्को चौथो पुरस्कार उपमान बस्नेत स्मृति पुरस्कार चक्रधर रुछिन्बोङलाई चयनित गरिएको छ। पश्चिम सिक्किम साहित्य प्रकाशनले उक्त पुरस्कारहरू आगामी २० अगस्तका दिन एक विशेष साहित्यिक समारोहबीच प्रदान गरिने पश्चिम सिक्किम साहित्य प्रकाशनका प्रचार सचिव केएन शर्माले जानकारी दिए। प्रकाशनले आगामी भाषा मान्यता दिवसको तयारीलाई लिएर विभिन्न प्रस्तावहरु पनि पारित गरेको छ।