गान्तोक: ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमका अध्यक्ष एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकव खालिङको नेतृत्वमा गएको टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गऱ्यो। स्मरण रहोस्, मुख्यमन्त्री तामाङ स्वयं पनि ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका प्रमुख संरक्षक हुन्। भेटको क्रममा टोलीले केही दिन अघि सम्पन्न भएको पहिलो जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको रिपोर्ट प्रस्तुत गरे। यस अवसरमा मुख्यमन्त्रीलाई राज्यका छवटा जिल्लाहरूमा आयोजित जिल्लास्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र उक्त अवसरमा विभिन्न विद्यालयका तीनसय भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाएको जानकारी गराइयो। बासका प्रतिनिधि टोलीले सबै जिल्ला ब्याडमिन्टन संघले प्रदान गरेको सहयोगको निम्ति प्रशंसा गरेको छ। मुख्यमन्त्री तामाङ विद्यार्थीहरूमा ब्याडमिन्टन प्रवर्द्धन गर्न बासको समर्पण र तृणमुलस्तरमा यस खेललाई पुऱ्याउने प्रयासको निम्ति प्रशंसा गरे। यस अवसरमा आगामी १२ अगस्तको दिन गान्तोकमा आयोजना हुने पहिलो अन्तर-विद्यालयस्तरीय च्याम्पियनशीपको फाइनलमा मुख्यमन्त्री प्रमुख अतिथिकारूपमा उपस्थित हुने जानकारी गराएको छ। यस अवसरमा मुख्यमन्त्रीले ब्याडमिन्टन खेललाई बढावा दिनको निम्ति बासलाई अन्तर विभाग साथै व्यवसायीहरूसित समन्वय राखेर ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने सुझाउ दिए। यस अवसरमा मुख्यमन्त्री तामाङले स्वार्गीय कुलदीप गुरूङ स्टेट जुनियर र सब जुनियर ऱ्याङकिङ प्रतियोगिताको निम्ति पोस्टरको लोकार्पण पनि गरे। उक्त प्रतियोगिता आगामी २६-२८ जुलाईसम्म चल्नेछ।