लगभग दुई वर्षपछि सोमबारदेखि फेरि सञ्चालन हुने अम्बटे चियाबारी
खरसाङ: खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारी अब फेरि सञ्चालनमा आउने पक्का भएको छ। हिजो १८ जुलाई २०२५ मा श्रमिक भवनमा राती ९ बजीसम्म बसेको ६ वटा ट्रेड युनियनका प्रतिनिधि अनि अम्बटे चिया कम्पनी प्रबन्धनबीच भएको सभामा उक्त निर्णय गरिएको छ। सभामा 6 वटा ट्रेड युनियनका प्रतिनिधिहरु अनि अम्बटे चिया कम्पनी प्रबन्धनबीच छुट्टयाइएको वेतन र बोनससहितका महत्वपूर्ण मुद्दाहरू समेटेर विस्तृत विमर्शपछि बगानको उत्पादन सोमबार २१ जुलाई २०२५ देखि फेरि सञ्चालनमा आउने भएको छ। बैठकमा चर्चा अनि विमर्शपछि मुख्य शर्तहरूसहित बगान पुनः सञ्चालन हुने निर्णय लिइएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय सभापति जेबी तामाङले बताएका छन्। शर्त अनुसार बगान सञ्चालन शरु भएको १५ दिनभित्र नै लगभग ३६ लाख रुपियाँ बकाइए वेतन श्रमिकहरूलाई तिरिनेछ। २०२३ सालको बोनस (लगभग ६५ लाख रुपियाँ) २०२५ को दुर्गापूजा अघि आवश्यक कागजात प्रक्रिया पूरा गरी श्रमिकलाई दिइनेछ। हिल तराई डुवर्स प्लानटेसन् वर्कर्स युनियनका जेबी तामाङले बताए अनुसार नयाँ व्यवस्थापनले वर्तमान वेतन नियमित रूपमा तिर्ने र अगाडि पनि नोभेम्बर/दिसम्बर २०२५ मा ५ लाख रुपियाँको किस्ता, त्यसपछि २०२६ अप्रेलदेखि ४ लाख रुपियाँ मासिक किस्तामा तिर्ने योजना बनाएको छ। बैठकमा गरिएको सम्झौता अनुसार बगान फेरि खुलेपछि अम्बटेस्थित कारखानामा चिया उत्पादन पनि शुरु हुनेछ। त्यसका लागि पावर बिजुली कम्पनीलाई अनुरोध गरिनेछ। यसको साथै, बजार व्यवस्थापनका लागि आवश्यक ओर्गेनिक प्रमाणपत्र फेरि जारी गर्दै आईएमओ इन्डिया प्रा. लि.ले सहयोग गर्नेछ। सम्झौतामा नसमेटिएका केही मुद्दाहरू बगान सञ्चालन सुरु भएको एक महिनापछि बगान स्तरमै छलफल गरिने। ट्रेड युनियन तथा प्रबन्धनले अम्बटे चिया बगानको समग्र विकासका लागि सहकार्य गर्ने र उद्योग शान्ति कायम गर्ने सहमति जनाएका छन्। बगान बन्द भएर श्रमिकहरूलाई धेरै कठिनाइ भोग्नुपरेको क्रममा यस सम्झौताले तत्कालीन राहत दिने साथै, बगानलाई लामो समयसम्म सञ्चालन गर्ने दिशामा अग्रसर बनाएको छ।
अहिले सबैको नजर सम्झौताका सर्तहरूको समयमै कार्यान्वयनमा केन्द्रित छ। बगान फेरि खुलेपछि स्थानीय समुदाय, कर्मचारी र प्रबन्धन सबैलाई पनि ठूलो फाइदा हुने आशा गरिएको छ। १० अक्टोबर २०२३ देखि अम्बटे चिया बगान बन्द रहेको थियो। तत्कालीन बगानको प्रबन्धन लेमनग्रास कम्पनी, सिलगढीले गर्ने गर्थ्यो। अब बगानको नयाँ प्रबन्धन अम्बुटिया चिया कम्पनी, कोलकाताले लिएको छ।