गान्तोक: सबैभन्दा सुरक्षित मानिने गान्तोक सदर थाना परिसरमै क्याप (सिटिजन एक्शन पार्टी, सिक्किम) का चार जना कार्यकर्तामाथि भएको प्राणघातक आक्रमणले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। आक्रमणमा घाइते भएका प्रशान्त बाबु छेत्री, प्रशान्त गुरुङ, ललित गुरुङ र धनबहादुर तामाङ क्यापका सक्रिय सदस्य हुन्। तीमध्ये प्रशान्त गुरुङको अवस्था गम्भीर छ र उनको पिठ्यूमा २३ टाँका लगाउनुपरेको जनाइएको छ।
घटना हिजो राति करिब १०:३७ बजे भएको हो। क्याप पार्टीले आक्रमण सदर थाना परिसरभित्रै भएको दाबी गर्दै घटनाको कडा निन्दा गरेको छ। तर, गान्तोकका प्रहरी अधिक्षक महेन्द्र सुब्बाले पत्रकार सम्मेलनमार्फत घटना थानाभित्र नभई केही पर अँध्यारो स्थानमा भएको दाबी गरेका छन्। उनका अनुसार, मास्क लगाएका आक्रमणकारीहरू घटनास्थलबाट फरार भएका थिए र प्रहरी टोली पुग्दा उनीहरू भागिसकेका थिए।

आक्रमणको पृष्ठभूमिमा बिहानको समयमा क्याप कार्यकर्ताहरूविरुद्ध प्रहरीको भिजिलेन्स विभागले जबर्जस्ती कार्यालय प्रवेश गरी अधिकारीलाई अवरोध गरेको अभियोगमा प्राथमिकी दर्ता गराएको थियो। सोही अभियोगमा दिवस गुरुङलाई पक्राउ गरिएको थियो। साँझमा थप कार्यकर्ताहरू प्रहरीसामु आत्मसमर्पण गर्न पुगेका बेला रातिको समयमा आक्रमण भएको बताइएको छ।
पीडित प्रशान्त बाबु छेत्रीले सदर थानामा दर्ता गराएको उजुरीमा सत्तारुढ़ दल सिक्किम क्रान्तिकारी मोर्चाका युवा अध्यक्ष लाक्पा मोक्तानमाथि आक्रमणमा संलग्न भएको आरोप लगाइएको छ। प्रहरीले उजुरीको आधारमा भारतीय न्याय संहिताको धारा ११७(२), ११८(१) तथा साडा(SADA) ऐनको धारा ३/५ अनुसार मुद्दा दर्ता गरेको छ। समाचार तयार पार्दासम्म घटनासँग सम्बन्धित कुनै पनि आक्रमणकारी पक्राउ परेका छैनन्।
यता, बिहानको भिजिलेन्सको उजुरीका आधारमा पक्राउ परेका दिवस गुरुङलाई भने अपराह्नको समयमा रिहा गरिएको छ।