गान्तोक: सिक्किम सरकारको शिक्षा विभागले र केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्लीको सहकार्यमा पाँच दिने संस्कृत शिक्षक प्रशिक्षण कार्यक्रमको समापन आज भयो। आज बुर्तुकस्थित एससीइआरटी सम्मेलन भवनमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन १४ जुलाईका दिन भएको थियो। आज समापन दिवसको अवसरमा एससीइआरटी
विभागका निर्देशक रविन छेत्री मुख्य अतिथि रहेका थिए। पाँच दिनसम्म चलेको प्रशिक्षणमा राज्यभरिका संस्कृत शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षण अवधिभरि शिक्षकहरूलाई संस्कृत शिक्षणको प्रविधिगत सुधार, नवीन पाठ योजनाको निर्माण तथा व्यावहारिक शिक्षण विधिहरूमा मार्गदर्शन प्रदान गरिएको थियो। समापन सत्रमा निर्देशक छेत्रीले सहभागी प्रशिक्षार्थीहरूलाई बधाई दिँदै भविष्यमा अझ प्रभावकारी शिक्षण अभ्यासको अपेक्षा व्यक्त गरे। सत्रमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो। कार्यक्रमको व्यवस्थापन भाषा निर्देशालय सिक्किमले गरेको थियो। सहभागी शिक्षकहरूले यस्तो प्रकारको प्रशिक्षणले आफ्नो पेशागत क्षमतामा उल्लेखनीय योगदान पुर्याशएको प्रतिक्रिया दिएका थिए। यस कार्यशालामा राज्यका १२ संस्कृत पाठशाला र ८५ सरकारी विद्यालयका संस्कृत शिक्षकहरू सहभागी थिए। पाँच दिवसीय कार्यशाला सफल भएकोमा संस्कृत प्रभाग अधिकारी डाक्टर कमल प्रसाद दाहालले सबैलाई धन्यवाद दिएका छन्।