राज्यको विभिन्न जिल्लामा पालन गरियो राज्य आपदा जोखिम न्यूनीकरण दिवस

IMG-20220918-WA0208.jpg

गान्तोक: जिल्ला आपदा प्रबन्धन प्राधिकरणको आयोजनामा सोरेङ जिल्लामा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको सहयोगमा आज राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालन गरियो।

सोरेङ सीनियर सेकेण्डेरी स्कूलको प्रेक्षागृहमा सम्पन्न कार्यक्रममा जिल्लापाल भीम ठटाल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

राज्यमा आइपरेको विनाशकारी विपद्को ११औं वर्षको उपलक्ष्यमा कार्यक्रमको मुख्य उद्देश्य यस्ता विनाशकारी विपद्को पुनरावृत्तिविरुद्ध सचेतना र तयारी प्रवर्द्धन गर्नु रहेको थियो।

कार्यक्रममा जिल्लापालसँगै पुलिस अधीक्षक जे जयापाण्ड्यान, अतिरिक्त जिल्लापाल धिरज सुबेदी, मुख्यालयका महकुमा अधिकारी डीआर विष्ट, महकुमा पुलिस अधिकारी विमल गुरुङ, खण्ड विकास अधिकारीहरू, सम्बन्धित विभागका अधिकारीहरू अनि आईआरबी दोस्रो बटालियनका जवानहरू, राज्य आपदा प्रतिक्रिया बल, आपदा मित्र, विद्यार्थीवर्ग लगायत स्थानीय मानिसहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जिल्लापाल ठटालले आजको दिनको महत्वबारे प्रकाश पारे। आपदाको समय आइपर्ने जोखिमबारे सचेत बन्न आवश्यक रहेको उनले विचार पोखे। उनले आपदासँग जुझ्न आत्मसुरक्षा र सुरक्षाको लागि चेतना नै प्रमुख कारक रहेको बताए। उनले मानवीय त्रुटि र लापरवाहीको कारण समाजले भोग्नु पर्ने असरका साथै विपद र अवरोधको भिन्नताबारे जानकारी गराउँदै आपदा व्यवस्थापन ऐनका बारेमा चर्चा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै पुलिस अधीक्षक जे जयापाण्ड्यानले जिल्ला आपदा प्रबन्धन योजनाबारे प्रकाश पार्दै केही सूचनामूलक कुराहरू राखे। यसै क्रममा नाम्चीमा पनि राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालन गरियो। नाम्ची जिल्ला प्रशासन केन्द्रको प्रेक्षगृहमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा जिल्ला अध्यक्ष छिरिङ देम भोटिया रहेकी थिइन् भने, विशिष्ट अतिथिहरूमा नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमार, अतिरिक्त जिल्लापाल अनन्त जैन, महकुमा अधिकारी महेन्द्र छेत्री लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। नाम्ची जिल्ला आपदा प्रबन्धन प्राधिकरणको पहलमा आयोजना भएको यस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि छिरिङ देम भोटियाले वर्ष २०११ को दिन राज्यमा ठूलो भूइचालो आएको र उक्त समयमा सिक्किमलाई धेरै क्षति पुगेको बताइन्। उनले वर्ष २०११ को भूकम्पको समयमा भएको अनुभव स्थानीय वार्ड पञ्चायतहरूसँग बाँडिन्। त्यस समयमा राज्यले धेरै कुराको चुनौतीको सामना गर्नु परेको बताइन्। उनले सबै पञ्चायतहरूलाई आपदा प्रबन्धनको समयमा हुने दुर्घटनाबारे प्रशिक्षण लिनु पर्ने आग्रह गरिन्। यदि प्रशिक्षण लिएको छ भने आपदा प्रबन्धनको समयमा धेरैको ज्यान जोगाउन सकिने सम्भावना व्यक्त गरेकी छन्। यसको निम्ति तृणमूलस्तरका जनतालाई नै प्रशिक्षण प्रदान गर्न सकेमा राम्र हुन सक्ने बताइन्। सोही प्रकारले जिल्लापाल एम भरानी कुमारले आजको यस कार्यक्रमको थिमबारे विस्तृतरूपमा जानकारी गराउँदै आपदा जोखिमलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने उपाय पनि अवगत गराए। उनले राज्यमा लागू भएको आपद व्यवस्थापन ऐनबारेमा जानकारी दिँदै राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए), एनडीआरएफद्वारा प्रदान गरिएको आधारभूत जीवन बचाउने तालिम र विभिन्न अभ्यासहरूमा सक्रिय सहभागी हुन आग्रह गरे। यस प्रकारको तालिमले सिक्किममा आपद व्यवस्थापन सीपमा अग्रगामी हुन सकिने मन्तव्य प्रकट गर्दै यसको निम्ति विभागहरू, गैर-सरकारी संस्थाहरू, स्वयंसेवकहरू र अन्य सरोकारवालाहरूको सामूहिक प्रयासले मानव निर्मित वा प्राकृतिक प्रकोपको प्रभावलाई न्यूनीकरण गर्न सकिने जनाए। सोही प्रकारले गेजिङ जिल्लामा पनि राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालन गरियो। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। आजको यसकार्यक्रममा सर्वप्रथम वर्ष २०११ को भूकम्पमा परि ज्यान गुमाउनेहरूको स्मरणमा दुई मिनटको मौनधारण गरियो। गेजिङ बजारमा आयोजित यस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य् अतिथि जिल्लापाल योङदाले कुनै पनि दिन, कुनै पनि क्षण विना चेतावनी विना प्रहार हुनसक्ने प्रकृतिको प्रकोपप्रति सजग रहन र समाजका प्रत्येक सरोकारवाला, व्यक्तिले जिम्मेवारीपूर्ण व्यवहारबाट विपद्लाई रोक्नको लागि निर्णायक भूमिका निर्वाह गर्नु पर्ने सुझाउ दिइन्। उनले संक्षिप्तमा राज्य स्तरमा एसएसडीएमएको पृष्ठभूमिबारे पनि जानकारी गराइन्। हालैका पहिरोका घटनाहरू स्मरण गर्दै उनले धेरै नाला र झोडाहरूमा फोहोरले थिचिएर थुनिएकाले डाउनस्ट्रिममा क्षति पुर्‍याउने भएकाले प्लाष्टिकको न्यूनतम प्रयोग गरेर फोहोर कम गर्न नागरिक समाजका लागि अति आवश्यक रहेको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *