खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगअन्तर्गत प्रीमियर डीविजन लीगमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) च्याम्पियन भयो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आज भएको प्रीमियर डीविजन लीगको अन्तिम तथा निर्णायक म्याच मा यूकेएफसी ले कञ्चनजंघा फूटबल क्लब (केएफसी) विरुद्ध ५-२ ले जीत हासिल गऱ्यो। यसरी यूकेएफसी ४ वटा म्याचमा १२ पोइण्ट्सको साथ प्रीमियर डीविजन लीग च्याम्पियन बन्यो। यसरी केएफसी ९ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेर लीग उपविजेता बन्यो। आजको म्याचमा विजेता टीमको तर्फबाट नयन प्रधान र पंकज थापा ले २-२ गोल गरे। अन्य एक गोल चिराग भुजेल ले गरे। यसरी केएफसी को तर्फबाट अरुण तामाङ र सेमुएल हल्दार ले गोल गरे। यसरी च्याम्पियनशीप डीविजन लीगको फाइनल म्याच २० जुलाई मा खरसाङ स्पोर्टिंग क्लब र मकैबारी युनाइटेड एफसी बीच खेलिनेछ। त्यही दिन दुवै डीविजनको च्याम्पियन र रनरअप् टीमहरूलाई पुरस्कार प्रदान गरिनेछ। आज म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा दावा डोमा भूटिया, प्रतीक गुरुङ र प्रमोद प्रधान सामेल थिए। सञ्जय थापा र रेबिका प्रधान फोर्थ अफिसियल थिए। दावा डोमा भूटिया दार्जीलिङ जिल्लाकी पहिलो महिला फूटबल रेफरी हुन्, जसले हालै सीएफएल म्याचको सञ्चालन गरेकी थिइन्। आजको म्याचमा अतिथिको रूपमा भारतीय महिला सीनियर महिला फूटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री र समाजसेवी पेमेन्द्र गुरुङ उपस्थित थिए।