गान्तोक: आज राजधानीको चिन्तन भवनमा आयोजित प्रेस क्लब अफ् सिक्किमको २३औं स्थापना दिवस कार्यक्रममा बोल्दै
‘राज्यका पत्रकारहरूको कल्याण र पत्रकारिता क्षेत्रको प्रवर्द्धनको लागि सिक्किम सरकारले विभिन्न पहलहरू गरिरहेको भए तापनि केही पत्रकारहरू अझै पनि सरकारप्रति सन्तुष्ट देखिॅंदैनन्’ भनी सिक्किम सरकारको ग्रामीण विकास विभाग मन्त्री अरुण उप्रेतीले भनेेका छन्।
कार्यक्रममा मुख्य अतिथिको रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ आउने निश्चित थियो तर कतिपय कारणवश उनी उपस्थिति हुन सकेनन्। उनको स्थानमा मुख्य अतिथिको रूपमा मन्त्री उप्रेतीले सभ्यालाई सम्बोधन गरे। उनले आज ‘कञ्चनजङ्घा कलम पुरस्कार २०२५’ ले अभिनन्दित वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर, ‘लगनशील युवा पत्रकार पुरस्कार २०२५’ ले अभिनन्दित फोटो जर्नलिस्ट पेमा वाङछेन लामा लगायत ‘पत्रकारिता सेवा गौरव सम्मान’ ले सम्मानित पत्रकारहरूलाई बधाई दिए।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको अगुवाईमा सिक्किम सरकारले राज्यका पत्रकारहरूको सशक्तिकरणको लागि थुप्रै महत्वपूर्ण निर्णयहरू लिएको बताए। सिक्किम सरकारले पत्रकारहरूको सम्मान गर्दै स्थायी कार्यालय भवनको व्यवस्था, सवारी साधन प्रदान, आर्थिक सहायता, स्वास्थ्य बीमा योजना, सरकारी विज्ञापन दरको वृद्धि, वरिष्ठ पत्रकारहरूको लागि पेन्शन र अध्ययन भ्रमण जस्ता पहलहरू गरेको उनले अवगत गराए।
मन्त्री उप्रेतीले यी सबै कार्यहरू पत्रकारहरूको सम्मान र पत्रकारिताको मूल्यको कदर स्वरूप गरिका हुन् भनी बताए। उनले सरकारले यति धेरै सहयोग र पत्रकारिताको सशक्तिकरणको लागि निरन्तर कार्यहरू गरिरहेको भए तापनि अझ पनि केही पत्रकारहरू सरकारप्रति पूर्ण सन्तुष्ट देखिॅंदैनन् भने। उनले लोकतन्त्रमा फरक मत, प्रश्न र आलोचना हुनु स्वाभाविक हो र सरकारले यसलाई सकारात्मक रूपमा लिएको बताए।
मन्त्री उप्रेतीले हाम्रो साझा जिम्मेवारी भनेको सधैं नकारात्मकता मात्र होइन, तर सरकारका सकारात्मक कार्यहरूलाई निष्पक्ष रूपमा प्रकाशमा ल्याउनु पनि हो भने। उनले सरकारका कार्यहरू जस्तै ग्रामीण विकास, शिक्षा, स्वास्थ्य, सकहारी विस्तार, पारदर्शी प्रशासन र युवा पुस्तामा अवसर सृजन, यी सबै विषयहरूमा पनि प्रेसले सकारात्मक दृष्टिकोण राख्नुपर्छ भन्ने विचार व्यक्त गरे।
मन्त्री उप्रेतीले भने, ‘आलोचना होस्, तर सन्तुलित होस्। असन्तुष्टि होस्, तर तथ्यमा आधारित होस्। समालोचना होस्, तर समाधानमुखी सोचसहित होस्। किनकि, हाम्रो साझा लक्ष्य भनेको सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माण गर्नु हो, जहॉं प्रेस स्वतन्त्र, जिम्मेवार र विकासको सहयात्री होस्।’ उनले पत्रकारहरूको कलम सधैं सत्य र जनताको पक्षमा चलोस् भनी कामना पनि गरे।
उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल, विधायक दिले नामग्याल बर्फुङ्गपा, गान्तोक नगर निगमका मेयर र उपमेयर, मुख्यमन्त्रीका राजनीतिक सचिवहरू, सल्लाहकारगण, अध्यक्षगण, आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो।