गान्तोक: हाल असमको राजधानी गुवाहाटीलाई कार्यथलो बनाएका मूल रुपमा दिक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत राबोङ निवासी वरिष्ट पत्रकार कर्मा सामतेन पाल्जोरलाई वर्ष २०२५ को प्रतिष्ठित कञ्चनजङ्घा कलम पुरस्कार प्रदान गरियो। यो पुरस्कार प्रत्येक वर्ष प्रेस क्लब अफ् सिक्किमले दुई दशकभन्दा अधिक समय पत्रकारिताको क्षेत्रमा सेवा गर्दै आएका पत्रकाहरूलाई उनीहरूको कामको मुल्याङ्कन गर्दै प्रदान गर्नेगर्छ। डिजीटल मिडीया प्लेटफर्म इस्टमोजो-का एडिटर-इन-चिफ कर्मा सामतेन पाल्जोर राष्ट्रिय मिडीयाका एक परिचित नाम हुन्। टाइम्स अफ् इण्डिया राष्ट्रिय समाचारपत्रबाट पत्रकारिताको यात्रा आरम्भ गरेका, उनले सीएनबीसी टीभी १८, सीएनएन न्यूज १८ जस्ता प्रतिष्ठित राष्ट्रिय मिडीयागृहमा काम गरिसकेका छन्।
आफ्नो लामो पत्रकारिता जीवनमा कर्मा सामतेन पाल्जोरले धेरैवटा उल्लेखनीय अनि प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्। ती मध्ये रामनाथ गोयनका अवार्ड प्रमुख रहेको छ। भारतमा पत्रकारिताको क्षेत्रमा अस्कर मानिने यो पुरस्कार उनले वर्ष २०११ र २०१४मा दुईपल्ट प्राप्त गरेका छन्। यसको साथै गत वर्ष मात्र उनले आरजी बरुवा स्मृति पुरस्कार पनि प्राप्त गरेका छन्।
पुरस्कार ग्रहण गरेपछि सम्बोधन राख्ने क्रममा आफ्नो घरले सम्झेको भन्दै कर्मा सामतेन पाल्जोर केही भावुक बने। पत्रकारिता जीवनमा आफूले धेरैवटा पुरस्कार प्राप्त गरेको तर आज आफ्नो घरले सम्मान गरेकोमा सबैभन्दा अधिक खुशी लागेको उनले बताए। उनले युवाहरूलाई सम्बोधन गर्दै आफूले रुचाएको विषयलाई पेशाको रुपमा लिने सुझाउ दिएका छन्।