गान्तोक: देशका राजधानी नयाँ दिल्लीस्थित विज्ञान भवनमा आयोजित एक कार्यक्रमबीच सिक्किम राज्यको मंगन जिल्लालाई स्वच्छ सर्वेक्षण पुरस्कार प्रदान गरियो। केन्द्रीय आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टरको बाहुलीबाट मंगन जिल्लालाई उक्त पुरस्कार प्रदान गरिएको हो। उक्त कार्यक्रम स्वच्छ भारत मिशनअन्तर्गत आयोजित विश्वको सबैभन्दा ठूलो शहरी सरसफाइ सर्वेक्षण, स्वच्छ सर्वेक्षण २०२४ संस्करणको समापन अवसरमा सम्पन्न गरिएको हो। यस वर्षको सर्वेक्षणमा देशभरिका ४,५०० भन्दा भन्दा अधिक शहरले सहभागिता जनाएको थियो। जसमा नागरिक प्रतिक्रिया, फोहोर व्यवस्थापन, नवीनता र समग्र सरसफाई अभ्यासहरू जस्ता मापदण्डबारे समीक्षा गरिएको थियो। ठोस फोहोर व्यवस्थापन, सरसफाइ पूर्वाधार र सामुदायिक संलग्नतामा उत्कृष्ट प्रदर्शनको लागि मंगन नगर पञ्चायतको प्रशंसा गरियो। उक्त पुरस्कार शहरी विकास विभागका मन्त्री भोजराज राई, मंगन जिल्ला पञ्चायत अध्यक्ष नोर्कित लेप्चा लगायत अन्य अधिकारीहरूको उपस्थितिमा प्रदान गरियो। विगतका वर्षहरूको तुलनामा यस वर्षको स्वच्छ सर्वेक्षण संस्करणमा सिक्किमका अन्य शहरी स्थानीय निकायहरूले पनि धेरै राम्रो प्रदर्शन गरेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री खट्टरले सबै विजेताहरूलाई बधाई दिँदै फोहोरमुक्त र दिगो शहरी भारत प्राप्त गर्ने सरकारको निरन्तर प्रतिबद्धतामाथि जोड दिए। उनले यस प्रकारको सम्मानले अन्य शहरहरूलाई सरसफाइमाथि प्रेरणा मिल्ने बताए।