मिरिक: गोर्खाल्याण्ड आन्दोलन २०१७ को क्रममा मिरिकमा केन्द्रीय सुरक्षा बलको गोलीबाट शहीद भएका आशिष तामाङको आठौं पुण्यतिथि आज उनको निजि निवास मगरजोङ चियाबारी, शंखमान गाउँमा अश्रुपूर्ण वातावरणमा स्मरण गरिएको छ। शहीद आशिषले आन्दोलनको क्रममा प्राणको आहुति दिएका थिए। आज पनि उनको सम्झनामा परिवारजनको आँखाबाट आँसु थामिएको छैन। उनले दुई नाबालक छोराछोरी र पत्नी मैना तामाङलाई छाडेर यो संसारबाट बिदा लिएका थिए। पहिला वर्षहरूमा पुण्यतिथि अवसरमा क्षेत्रका राजनैतिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू र शुभचिन्तकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। तर, यस वर्ष भने उक्त पुण्यतिथि शुद्ध पारिवारिक रूपमा मात्रै सम्पन्न भयो। यस अवसरमा शहिदकी पत्नी मैना तामाङले गहभरि आँसुसहित शहीदको सपना गोर्खाल्याण्डको लागि सदैव अग्रसर रहिदिने सम्पुर्ण पहाडवासीलाई आह्वान गरिन्।