गान्तोक: हिन्दी र नेपाली दुवै भाषामा निर्माण हुन लागिरहेको चलचित्र दिप – दियाको निम्ति आज अडिसन कार्यक्रम सम्पन्न भयो। विकास क्षेत्रस्थित नेपाली साहित्य परिषद भवनमा आयोजित यस अडिसन कार्यक्रममा राज्यभरिका एक सय भन्दा पनि अधिक कलाकारहरूले अडिसन दिएको क्रिएटिभ कन्सलटेन्ट राज रायले जानकारी गराए। उनले पत्रकारहरूसँग कुराकानी गर्दै यस चलचित्रमा सिक्किम,नेपाल र वलिवुडका कलाकारहरूलाई समावेश गरेर चलचित्र निर्माण गरिने भएको अवगत गराए। सिक्किम राज्यमा कलाकारहरूको कुनै कमी नरहेको र आगामी दिनमा यहाँबाट धेरै कलाकारहरूले राम्रो मञ्च पाउन सक्ने उनले सम्भावना व्यक्त गरे। उनले थप जानकारी गराए अनुसार सो चलचित्रको ६० प्रतिशत भन्दा अधिक छायाङ्कन सिक्किम भित्र नै गरिने भएको छ। सिक्किम राज्यको पर्यटन व्यवसायलाई ध्यानमा राख्दै यो चलचित्र निर्माण गरिने छ भने पचास प्रतिशत भन्दा अधिक स्थानीय कलाकारहरूलाई अवसर दिइने उनले बताएका छन्। केही वर्ष अघिदेखि नै यहाँको छायाङकन गर्ने स्थलको अध्ययन गर्दै आएको जानकारी गराए। यस चलचित्रमा मुख्य भूमिकाकोरूपमा वलिवुडका कलाकारहरूलाई लिइने भएको छ। यसै क्रममा स्थानीय कलाकार दिपक शर्माले पनि आफू उक्त चलचित्रको निम्ति उत्सुक रहेको र जस्तो भूमिका दिए पनि निर्वाह गर्ने जानकारी गराए। नेपाली चलचित्रलाई नेपाल मात्र नभएर वलिवुडसम्म नै पुऱ्याउने उद्देश्य लिएर यो चलचित्र निर्माण गरिने भएको उनको भनाइ रहेको छ।










