रिजनल पीएफ कार्यालयमा लङभ्यू चिया बगान श्रमिकहरूको धरना

IMG-20250717-WA0101

बगान मालिकविरूद्ध कार्बाही गर्नु पर्ने युनियनको माग

खरसाङ: सन् २०१५ देखि लङभ्यू चिया बगानको मालिकले नियमित रुपमा पीएफ राशि जम्मा नगरेको विषय लिएर आज हिल प्लान्टेसन इम्प्लोइज युनियनले सिलगढी रिजनल पीएफ कार्यालयमा धरना प्रदर्शन गरेको थियो। भुक्तभोगी लङभ्यू चिया बगानका श्रमिकहरूले आज दिउँसो दार्जीलिङ मोडबाट सिलगढी जंसनसम्म जुलूस निकालेका थिए। जंसन परिसरमा अवस्थित रिजनल पीएफ कार्यालय पुगेको उक्त जुलूस धरनामा परिणत भएको थियो। धरनामा सयौँ चिया श्रमिकहरू उपस्थित थिए। धरना अवधि युनियनका केन्द्रीय समिति सचिव छेवाङ योञ्जन, सदस्य तनुजा लामा, लङभ्यू टुनिटका सचिव विन्ध्य थापा, सहसचिव सजिना योञ्जन र सदस्य कविता पाखरिङले रिजनल पीएफ कमिसनर एसएन घोषसँग भेट गरी २०१३ देखि मालिकले पीएफ जमा नगरेको विषयबारे अवगत गराए।


कमिसनरसँगको भेट अवधि यी प्रतिनिधि टोलीले दुईवटा ज्ञापन पत्र पनि पेश गरेको छ। ज्ञापन पत्रमा पीएफ कानुनको धारा ७ए अन्तर्गत कम्पनी विरूद्ध कार्बाही गर्नु पर्ने माग गरेको छ भने अर्को ज्ञापन पत्रमा बगान स्तरमा देखा परेको पीएफ सम्बन्धित समस्याहरू जस्तै, नाम, जात, लिङ्ग, सम्पर्क नम्बर आदिको संशोधन, अनलाइन पक्रियामा समस्या आदि उल्लेख छ। यता, कमिसनर घोषले श्रमिक प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आगामी ३० जुलाईको दिन बगान स्तरमा एउटा क्याम्प राख्ने आश्वासन दिएका छन् भने कम्पनी मालिक विरूद्ध पनि चरणबद्ध रुपमा कारबाही शुरू गर्ने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement